मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday 3rd November 2026

रुखमा फल्दैछ पैसा, तर राज्यको नजर कहिले पर्छ ?

आइतवार , पौष १३, २०८२

सिन्धुलीको गोलञ्जोर गाउँपालिकाका जुनार–सुन्तला बगैँचा यतिबेला केवल पहेँलपुर फलले होइन, सम्भावनाले पनि लटारिएका छन् । महाभारत शृंखलाको काखमा फैलिएका ती बगैँचाले एउटा स्पष्ट सन्देश दिइरहेका छन—नेपालमा सम्भावना छैन भन्ने होइन, सम्भावनालाई चिन्न र जोगाउन राज्य असफल भइरहेको हो ।

जुनार नेपालको मौलिक फल हो । यसको स्वाद, रसिलोपन र पौष्टिकता कुनै आयातित फलभन्दा कम छैन । गोलञ्जोर क्षेत्रमा मात्रै वार्षिक करोडौँ रुपैयाँ बराबरको उत्पादन र कारोबार हुनु सामान्य कुरा बनेको छ । व्यापारीहरू पैसाको बिटो बोकेर बगैँचामै पुग्नुले यो खेतीको आर्थिक शक्ति स्पष्ट देखाउँछ । यति हुँदाहुँदै पनि किसानको वास्तविक समस्या भने उत्पादन होइन, पहुँच हो ।

आज पनि गोलञ्जोरका धेरै बगैँचामा पुग्न घण्टौँ कच्ची सडकमा हिँड्नुपर्छ । वर्षायाममा फल कुहिन्छ, सुक्खायाममा ढुवानी महँगो हुन्छ । किसानले दुई दशकदेखि कालोपत्रे सडकको माग गर्दै आएका छन् । तर, सडक अझै ‘योजनामै’ सीमित छ । यो केवल गोलञ्जोरको समस्या होइन, नेपालको ग्रामीण कृषि अर्थतन्त्रको साझा पीडा हो ।

राज्यले बारम्बार ‘कृषिमा आत्मनिर्भरता’को नारा लगाउँदै आएको छ । तर आत्मनिर्भरता नाराले होइन, नीतिगत प्राथमिकताले सम्भव हुन्छ । जुनार–सुन्तलाजस्तो सफल उदाहरण हुँदाहुँदै पनि यदि किसान आधारभूत पूर्वाधारबाट वञ्चित छन् भने प्रश्न उठ्छ—राज्यको प्राथमिकता के हो ? विदेशबाट फल आयात गर्न सजिलो, तर आफ्नै किसानलाई सडक दिन गाह्रो किन ?

अर्कोतर्फ, रोगकिरा र जलवायु जोखिम किसानका लागि अर्को चुनौती बनेको छ । औँसा, सुडेपुतली र ढुसी रोगको समस्या देखिँदा पनि स्थायी अनुसन्धान केन्द्रको व्यवस्था हुन सकेको छैन । किसान अनुभव र अनुमानकै भरमा उत्पादन जोगाइरहेका छन् । यो दीर्घकालीन समाधान होइन । यदि राज्य साँच्चै कृषि विकासमा गम्भीर छ भने जुनार अनुसन्धान तथा प्रवद्र्धन केन्द्र अब विलम्ब नगरी स्थापना हुनुपर्छ ।

जुनार केवल फल होइन, पहिचान पनि हो । यसले गोलञ्जोरलाई राष्ट्रिय स्तरमा चिनाएको छ । बिपी राजमार्ग हुँदै यात्रा गर्ने अधिकांश यात्रुको झोलामा जुनार कोसेली बन्नु सामान्य दृश्य हो । यति ठूलो सम्भावनालाई ब्रान्डिङ, प्रशोधन उद्योग र निर्यातसँग जोड्न सकियो भने जुनारले किसान मात्र होइन, राष्ट्रको अर्थतन्त्रमा योगदान दिन सक्छ ।

विडम्बना के भने, गाउँमै रोजगारी र आम्दानीको आधार तयार हुँदाहुँदै पनि युवा विदेशिने क्रम रोकिएको छैन । कारण स्पष्ट छ—अनिश्चितता । सडक नबन्ने, बजार सुनिश्चित नहुने, नीतिगत समर्थन कमजोर हुने अवस्थाले कृषिमा भविष्य देख्न युवा हिच्किचाउँछन् । यदि यही अवस्था रहिरह्यो भने ‘रुखमै पैसा फल्छ’ भन्ने उखान केवल समाचारको शीर्षकमा सीमित हुनेछ ।

गोलञ्जोरका जुनार–सुन्तला बगैँचाले राज्यलाई प्रश्न मात्र होइन, अवसर पनि दिएका छन् । अब निर्णय गर्ने पालो सरकारको हो—यो अवसरलाई बेवास्ता गरेर कृषिमा निराशा बढाउने कि, पूर्वाधार, अनुसन्धान र बजार सुनिश्चित गरेर गाउँमै समृद्धिको ढोका खोल्ने ? रुखमा पैसा फल्न थालेको छ । अब राज्यले त्यो पैसा टिप्न सक्ने वातावरण बनाउन ढिला गर्नु हुँदैन ।

प्रतिक्रिया