काठमाडौँ,१० पुस – व्यस्त जीवनशैली, लामो समय स्क्रिनअगाडि बस्ने बानी र शारीरिक गतिविधिको कमीका कारण आजभोलि धेरैको स्वास्थ्य प्रभावित भएको छ । यस्तो अवस्थामा नियमित हिँडाइ स्वास्थ्यका लागि सबैभन्दा सहज, सस्तो र प्रभावकारी उपाय मानिन्छ । आयुर्वेददेखि आधुनिक विज्ञानसम्मले हिँडाइलाई तौल सन्तुलन, मुटु–फोक्सोको मजबुती, मांसपेशीको सक्रियता र मानसिक स्फूर्तिको आधार मानेका छन् । तर जाडोयाम सुरु भएसँगै धेरैको मनमा प्रश्न उठ्छ—चिसो मौसममा हिँड्ने सही समय कुन हो ?
आयुर्वेदका अनुसार जाडोमा कफ दोष बढ्ने भएकाले शरीर भारी, अल्छी र सुस्त महसुस हुन सक्छ । यदि यस समयमा शारीरिक गतिविधि कम गरियो भने तौल बढ्ने, पाचन कमजोर हुने र चिसोसम्बन्धी समस्या देखिन सक्छन् । चिसो मौसममा शरीरले आफैँलाई न्यानो राख्न बढी ऊर्जा खर्च गर्ने भएकाले हिँडाइले क्यालोरी जलाउन र बोसो जम्न नदिन थप सहयोग पु¥याउँछ ।
विशेषज्ञहरूका अनुसार जाडोमा हिँड्ने सबैभन्दा उपयुक्त समय बिहान ८ देखि ११ बजेको बीच हो । सूर्योदयपछि घाम लाग्दा वातावरण केही न्यानो हुन्छ, जसले शरीरलाई सक्रिय बनाउँछ । घामबाट प्राप्त हुने भिटामिन ‘डी’ ले हड्डी बलियो बनाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । यही कारण जाडोमा अति चिसो बिहानभन्दा घाम चढिसकेपछि हिँड्नु सुरक्षित र लाभदायक मानिन्छ ।
बिहान खाली पेटमा हिँड्ने विषयमा भने सावधानी आवश्यक छ । पाचन कमजोर भएका, चक्कर लाग्ने, कमजोरी वा कम रक्तचाप भएका व्यक्तिले खाली पेटमा लामो हिँडाइ गर्नु उपयुक्त हुँदैन । यस्ता व्यक्तिले मनतातो पानी, फलफूल वा हल्का खाजा लिएर हिँड्नु राम्रो हुन्छ । शरीरलाई अत्यधिक थकाइ नदिई बिस्तारै सक्रिय हुनु नै दीर्घकालीन स्वास्थ्यका लागि उपयोगी हुन्छ ।
यदि बिहान समय नमिले साँझको हिँडाइ पनि उत्तिकै उपयोगी हुन्छ । साँझ ४ देखि ५ः३० बजेसम्मको हल्का पैदल यात्राले दिनभरि खाएको खानाको पाचनमा सहयोग गर्छ, तनाव घटाउँछ र राम्रो निद्रालाई बढावा दिन्छ । मधुमेह भएका व्यक्तिका लागि पनि साँझको हिँडाइ लाभदायक मानिन्छ । तर चिसो मौसम भएकाले न्यानो लुगा लगाउन बिर्सनु हुँदैन ।
कति समय हिँड्ने भन्ने प्रश्नमा आयुर्वेदले पसिना आउने तर अत्यधिक थकान नहुने गरी हिँड्न सुझाव दिन्छ । सामान्यतया दैनिक ४०–४५ मिनेट वा करिब ८ हजारदेखि १० हजार पाइला हिँड्नु पर्याप्त मानिन्छ । छिटोभन्दा मध्यम गतिमा नियमित हिँडाइ नै जाडोमा स्वस्थ रहने भरोसायोग्य उपाय हो ।