शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

एमाले नेता महेश बस्नेत चढेको विमान सिमरामा अवरतण गर्न नदिन जेनजीको प्रदर्शन

बुधवार , मंसिर ३, २०८२

सिमरा,०३ मंसिर – बाराको सिमरा विमानस्थल मंगलबार दिउँसो चर्किएको विरोध प्रदर्शनका कारण पूर्णरूपमा बन्द गरिएको छ । एमाले नेता शंकर पोखरेल र महेश बस्नेत सवार रहेको विमानलाई अवतरण गर्न नदिने भन्दै जेनजी समूहका युवाले गरेको उग्र प्रदर्शनले विमानस्थलको गतिविधि अवरुद्ध बनेको हो ।

एमालेका नेताहरू बारामा आयोजना गरिएको एक राजनीतिक कार्यक्रममा सहभागी हुन आएका बेला प्रदर्शनकारीहरू विमानस्थल क्षेत्रमै भेला भएर नाराबाजी गर्दै घेराउमा उत्रिएका थिए । स्थानीय प्रशासनका अनुसार प्रदर्शन हिंसात्मक हुने संकेत देखिएपछि सुरक्षा निकाय सतर्क बनेको थियो । ती नेताहरूसँगै विमानस्थल परिसरमा एमालेका अच्युत मैनाली, किसान श्रेष्ठ र ज्वालाकुमारी साह पनि उपस्थित रहेको पुष्टि गरिएको छ ।

विरोध बढ्दै जाँदा विमानस्थलको नियमित उडान तथा अवतरण पूर्ण रूपमा रोकिएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । परिस्थिति नियन्त्रण बाहिर जान थालेपछि उनले दिउँसो १२ः३० बजेदेखि कफ्र्यु आदेश जारी गर्दै स्थानीयलाई आवश्यक परे बाहेक घरमै बस्न आग्रह गरेका छन् । कफ्र्यु सिमरा बजारदेखि विमानस्थल क्षेत्रसम्म लागू गरिएको छ ।

सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली ठूलो संख्यामा परिचालन गरिएको छ । बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङका अनुसार स्थिति नियन्त्रणमा लिन प्रयास भइरहेको र संवेदनशील क्षेत्रहरूमा अतिरिक्त फोर्स पठाइएको छ । “विमानस्थल वरिपरि भीड बढ्दै गएको र अवस्था एकाएक तनावपूर्ण बनेपछि कडाइ गरिएको हो,” उनले जानकारी दिए ।

जेनजी समूहका युवाहरूले विगत केही दिनदेखि विभिन्न राजनीतिक गतिविधि र नेताहरूको यात्राविरुद्ध आक्रोश व्यक्त गर्दै आएका छन् । विमानस्थल घेराउलाई उनीहरूले ‘शान्तिपूर्ण प्रतिरोध’ भने पनि प्रशासनले सम्भावित जोखिम मूल्यांकन गर्दै कठोर कदम चाल्न बाध्य भएको जनाएको छ ।

आन्दोलन चर्किरहेको र कफ्र्यु जारी रहेकाले विमानस्थल कहिले सामान्य संचालनमा फर्कने भन्ने अनिश्चित छ । स्थिति स्थिर बनाउन प्रशासन, सुरक्षा निकाय र स्थानीय प्रतिनिधिसँग समन्वय भइरहेको बताइएको छ ।

प्रतिक्रिया