दीपावली उज्यालो, खुशी र उत्सवको प्रतीक पर्व हो । देशैभर दीप, बत्ती र सजावटका रंगीन दृश्यले घर–घर झिलिमिली भइरहन्छन् । तर, यही उज्यालोको पर्व कहिलेकाहीँ असावधानीका कारण अन्धकारको कारण बन्न सक्छ । यही चेतावनी आज नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रका प्रमुख शिसिर लम्सालले दिएका छन् ।
हाम्रो समाजमा प्रायः देखिने प्रवृत्ति हो । उत्सवको उमंगमा सुरक्षालाई दोस्रो प्राथमिकता दिने । बत्ती सजाउने हतारोमा गुणस्तरीय तार वा उपकरण प्रयोग नगर्नु, मेन स्वीच नबन्दै जडान सुरु गर्नु, वा बत्ती निरन्तर बलिरहन दिनु । यी साना गल्तीहरूले ठूलो दुर्घटना निम्त्याउन सक्छन् । विगतमा पनि यस्ता कारणले धेरै ठाउँमा आगलागी र मानवीय क्षति भएका उदाहरण प्रशस्त छन् ।
विद्युत सजावट सौन्दर्यका लागि हो, तर त्यसमा सुरक्षा नहुने हो भने त्यो सौन्दर्य खतराको रूप लिन सक्छ । प्राधिकरणले आग्रह गरेझैं, प्रत्येक नागरिकले आफ्नो घर, कार्यालय वा मठमन्दिर सजाउँदा सुरक्षित दूरीमा बत्ती जडान गर्ने, राम्रो गुणस्तरका तार र बत्ती प्रयोग गर्ने, र दक्ष व्यक्तिबाट मात्र काम गराउने बानी बसाल्न जरुरी छ । दीपावलीको वास्तविक अर्थ नै अन्धकारमाथि प्रकाशको विजय हो । त्यो प्रकाश यदि असावधानीका कारण अन्धकारमा परिणत हुन्छ भने त्यो हाम्रो दुर्भाग्य हुनेछ ।
विद्युत प्राधिकरणले पर्वको समयमा अविरल आपूर्तिका लागि गरेको तयारी प्रशंसनीय छ । तर, सुरक्षा केवल संस्थाको जिम्मेवारी होइन । प्रत्येक उपभोक्ताको पनि कर्तव्य हो । सामूहिक सतर्कता र जिम्मेवारीले मात्र यो पर्वलाई साँच्चिकै उज्यालो र सुरक्षित बनाउन सकिन्छ ।
यस दीपावली र छठमा, हामी सबैले एकपटक आफ्ना बत्ती, तार र स्वीचहरूको जाँच गरौं । सजावटमा रमाऔं, तर सावधानीका साथ । किनभने, सावधानी नै सुरक्षा हो । यही सन्देश हो यो दीपावलीको ।