आइतवार, कार्तिक २२ गते २०८३

Sunday 8th November 2026

विपी राजमार्ग बग्यो : वैकल्पिक मार्गमा लामो यात्रा गर्न यात्रु बाध्य

सोमवार , आश्विन २०, २०८२

सिन्धुली,२० असोज – लगातारको अविरल वर्षासँगै आएको बाढी र पहिरोले विपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा ठूलो क्षति पु¥याएको छ । अस्थायी डाइभर्सन सडक समेत बगाएपछि यात्रुहरू अब पूर्वी पहाडी र तराईका जिल्लामा पुग्न लामो दूरीको अरनिको राजमार्गको वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका छन् ।

विपी राजमार्गको डाइभर्सन सडक बगाएपछि दसैं मनाउन गन्तव्यमा पुगेका यात्रुहरू अब संघीय राजधानी काठमाडौँ फर्कन र काठमाडौँबाट आफ्नो गन्तव्यमा पुग्न करिब १०० किलोमिटर लामो घुम्ती मार्ग अपनाउनुपर्ने अवस्था आएको छ । विपी राजमार्ग खुलेको भए यात्रुहरूले धुलिखेलदेखि खुर्कोटसम्मको ८७ किलोमिटरको यात्रा पूरा गर्न सक्थे, तर अहिले वैकल्पिक मार्ग प्रयोग गर्दा करिब ६ घण्टा बढी समय लाग्ने अनुमान गरिएको छ ।

सडक डिभिजन भक्तपुरका सूचना अधिकारी ई. बिन्दु अधिकारीले रोसी खोलाको बहाव घटेपछि क्षतिको यथार्थ विवरण आउन नसक्ने बताउनुभयो । उहाँले चौकीडाँडादेखि बर्खे खोलासम्म करिब ३.४ किलोमिटर डाइभर्सन सडक बाढीले बगाएको जानकारी दिनुभयो । “खोलाको बहाव कम नभएसम्म अस्थायी डाईभर्सन सडक बनाउने अवस्था छैन । बहाव कम भए एक साताभित्र सवारीसाधन सञ्चालनमा ल्याउन सकिनेछ,” उहाँले भन्नुभयो ।

विपी राजमार्ग अबरुद्ध भएपछि अरनिको राजमार्ग हुँदै दोलखा–रामेछाप–खुर्कोट वा मध्यपहाडी राजमार्ग जोड्ने सित्खाहुँदै सिन्दुरेटार–तेमाल–भकुण्डे मार्ग प्रयोग भइरहेको छ । यद्यपि भकुण्डे–तेमाल मार्ग कच्ची र साँघुरो भएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलनञ्चोकले यसलाई वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न सिफारिस नगरेको जनाएको छ ।

गत वर्ष पनि असोजको बाढीले विपी राजमार्गको करिब २९ किलोमिटर सडक पूर्णरुपमा क्षति पु¥याएको थियो । त्यतिबेला सडक डिभिजनले तीन साता लामो प्रयासपछि डाइभर्सन सडक निर्माण गरी यातायात सञ्चालनमा ल्याएको थियो ।

सडक डिभिजनका ईन्जिनियर दुर्गा प्रसादले भन्नुभयो, “चौकीडाँडाबाट बर्खे खोलासम्म विभिन्न स्थानमा रहेका उपकरण ल्याउन अहिलेको बाढीले अवस्था नदिएकोले पत्ता लगाइरहेका छौं ।” इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीले बाढीले डाइभर्सन सडक बगाएपछि पैदल यात्रा गर्न समेत अवस्था नरहेको बताउनुभयो ।

रोसी खोलामा आएको बाढी र विभिन्न स्थानमा आएको पहिरोबाट बिपी राजमार्गको बर्खेखोलादेखि बर्खेखोलासम्म विभिन्न १४ स्थानमा डाइभर्सन सडक पूर्णरुपमा क्षति पुगेको थियो । बाढीबाट माम्ती खोलामा चारसय मिटर, माम्तीमा २३० मिटर, माख्लो पिप्लेमा २२० मिटर, तल्लो पिप्लेमा २३५ मिटर, डालाबेशीमा चारसय मिटर, कालढुङ्गास्थित भ्याकुरे खोलामा १७५ मिटर, बोक्सीकुनामा दुई सय मिटर सडक बगाएको छ ।

यस्तै, राजमार्ग अन्तर्गत चिउरीबासमा १७५ मिटर, नार्केमा १५० मिटर, गिम्दीबेशीमा दुईसय मिटर, चारसयबेशीमा २५० मिटर, कटुञ्जेबेशीमा १५० मिटर, चौकीडाँडामा ३५० मिटर बाढीबाट सडक पूर्णरुपमा क्षति भएको सूचना अधिकारी ई. अधिकारीले बताउनुभयो । उहाँले राजमार्गको पिप्लेमा आएको सुख्खा पहिरोबाट करिब ३५० मिटर सडकमा क्षति पुगेको बताउनुभयो ।।

प्रतिक्रिया