काठमाडौँ, १८ असोज – बंगालको खाडीबाट सर्ने जलवाष्पयुक्त मनसुनी वायुको प्रभावका कारण आज देशभर मौसम बदली रहने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसोदेखि नै अधिकांश स्थानहरूमा आकाश बादलले ढाक्नेछ भने कतिपय स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ ।
विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागहरूमा मौसमको प्रभाव बढी देखिनेछ । ती क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना प्रबल रहेको बताइएको छ । त्यस्तै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही पहाडी र तराई भू–भागमा तथा लुम्बिनी प्रदेशका केही तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने संकेत महाशाखाले दिएको छ। अझै विशेषगरी मधेश, बागमती र गण्डकी प्रदेशका केही भू–भागमा भने धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान गरिएको छ, जसले गर्दा त्यहाँ बाढी र पहिरोको जोखिम समेत बढ्न सक्ने देखिएको छ ।
रातिको मौसमपनि खासै परिवर्तन नहुने देखिन्छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा रातभरि अधिकांश स्थानमा आकाश बदली नै रहनेछ भने अन्य प्रदेशहरूमा सामान्य बदलीको स्थिति रहनेछ । रातको समयमा पनि ती प्रदेशका पहाडी तथा तराई भू–भागमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना कायम । यसैगरी, लुम्बिनी प्रदेशको अधिकांश पहाडी तथा केही तराई भागमा पनि वर्षा हुने अनुमान गरिएको छ ।
महाशाखाले दिएको सूचना अनुसार, आगामी घण्टाहरूमा वर्षाको तीव्रता अझै बढ्न सक्ने भएकाले विशेषगरी सम्भावित जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरूलाई पनि आवश्यक सतर्कता र तयारी अपनाउन अनुरोध गरिएको छ ।