काठमाडौँ,०२ असोज – नेपालमा यस वर्षको मनसुनबारे पछिल्लो प्रक्षेपणले दशैँसम्म नै वर्षा तन्किन सक्ने संकेत दिएको छ । मौसमविद्हरूले सामान्यतया असोज १४ (सेप्टेम्बर ३०) तिर मनसुन बाहिरिने अनुमान गरेका थिए । तर पछिल्ला विश्लेषणअनुसार त्यसपछि पनि केही दिन वर्षा जारी रहने सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार हालको प्रवृत्ति हेर्दा मनसुन सहजै अन्त्य हुने स्थिति छैन, बरु यसपालि दशैँसम्म “हिलेदशैँ“ हुने अवस्था बन्ने सम्भावना बढी छ ।
भारतको पश्चिमी भूभागमा भने मनसुन बाहिरिने प्रक्रिया सुरु भइसकेको भए पनि नेपालमा अझै केही साता कुर्नुपर्ने देखिन्छ । यसको कारण न्यूनचापीय रेखा उत्तरतर्फ सर्दा, बंगालको खाडी वा अरब सागरबाट आउने प्रणालीहरू सक्रिय नभएको बताइन्छ। यसले गर्दा नेपालमा अपेक्षित रूपमा ठूलो प्रणाली विकास हुन सकेन ।
विभागका तथ्यांकअनुसार असोज २ गतेसम्म देशभर १,१२२.४ मिलिमिटर पानी परेको छ, जुन वार्षिक औसतको ८९.१ प्रतिशत हो । यो सामान्य श्रेणीमा पर्ने भए पनि वितरण असमान देखिन्छ । सुदूरपश्चिमका पहाडी भेगमा ११० प्रतिशतभन्दा बढी वर्षा हुँदा मधेश प्रदेशमा भने वार्षिक औसतको ६४.५ प्रतिशत मात्रै पानी परेको छ । कतै अतिवृष्टि र कतै अल्पवृष्टि देखिँदा धेरै स्थानहरूमा खण्डवृष्टिको स्थिति छ ।
प्रवक्ता पोखरेलका अनुसार यसपालि मनसुन “खण्डित“ ढंगले चलेको छ । जुलाई महिनामा त कुनै ठूला प्रणाली नदेखिँदा कतिपय ठाउँमा सुक्खा जस्तै अवस्था रह्यो । तर स्थानीय स्तरमा जलवाष्पयुक्त हावाका कारण कतै ठूलो वर्षा भयो भने छेउकै ठाउँमा सुक्खा रह्यो । उदाहरणका लागि, काठमाडौंका केही भागमा पानी नपरे पनि भक्तपुरमा ठूलो वर्षा भएको घटना हालै देखियो ।
यसरी कतै अत्यधिक वर्षा र कतै पानी नै नपर्ने असमानताले कृषिमा पनि मिश्रित प्रभाव पार्ने अनुमान गरिएको छ । यसले दशैँअघि किसानहरूले आशा गरेका भन्दा भिन्न परिणाम ल्याउन सक्ने विशेषज्ञहरूको चेतावनी छ । नेपालका मौसमविद्हरूले आगामी दिनमा अझ स्पष्ट आकलन आउने बताए पनि अहिलेसम्मको स्थिति हेर्दा मनसुनको विदाइ ढिलो हुने पक्का देखिन्छ ।