काठमाडौं, १ असोज– वर्षा ऋतुको अन्त्यतिर आइपुग्दा पनि नेपालमा मनसुन अझै सक्रिय देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान वरिपरि नै कायम छ, साथै अरब सागर र बंगालको खाडीबाट आद्र्र हावाको आगमन भइरहेको कारणले देशभर मनसुन पुनः सक्रिय बन्दै गएको हो ।
मौसमविद् रोजन लामिछानेले बहिर्गमन हुने समय नजिकिँदै गर्दा पनि कहिलेकाहीँ मनसुन सक्रिय हुने प्रवृत्ति देखिने बताउनुभयो । उहाँका अनुसार सामान्यतया अक्टोबर २ तारिखतिर मनसुन बाहिरिने गर्दछ । यसपटक अझै १५ दिन जति समय बाँकी भए पनि सरदर मितिमा नै मनसुन बहिर्गमन हुन्छ वा ढिला हुन्छ भन्ने विषयमा अहिल्यै निश्चित भन्न नसक्ने अवस्था छ ।
हाल देशभर सामान्यतया मौसम बदली रहने अनुमान गरिएको छ । विशेषगरी बागमती र लुम्बिनी प्रदेशका साथै अन्य पहाडी क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना छ । कोशी, बागमती र कर्णालीका पहाडी भूभाग र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
विभागका बाढीविद् विनोद पराजुलीका अनुसार निरन्तर वर्षाका कारण देशका विभिन्न नदीहरूको बहाव बढ्ने सम्भावना प्रबल छ । विशेष गरी दोलखा, सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही, नवलपरासी पूर्व–पश्चिम, डोटी, कैलाली लगायतका जिल्लाबाट बग्ने स–साना नदीमा आकस्मिक बाढी आउने मध्यम स्तरको जोखिम देखिएको छ । यस्तै इलाम, झापा, मोरङ, काठमाडौं उपत्यका, चितवन, कास्की, तनहुँ, गुल्मी, बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेख, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला लगायतका जिल्लामा समेत नदी बहाव अस्वाभाविक बढ्ने सम्भावना छ ।
यस्ता जोखिमलाई ध्यानमा राख्दै विभागले नदी तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । विशेषगरी राति र बिहानका समयमा आकस्मिक बाढीको खतरा बढ्ने भएकाले सुरक्षित स्थानमा रहन र आवश्यक पूर्वतयारी गर्न सबैलाई सन्देश दिइएको छ । मनसुन बहिर्गमनको समय समीप हुँदा पनि यसरी सक्रिय बनेको मौसमले अझै केही दिन जनजीवन प्रभावित हुने संकेत गरेको देखिन्छ ।