काठमाडौं २६ भदौँ – देशव्यापी अस्थिरताबीच कारागार तोडफोडका घटनाले कानुनको शासनमाथि नै प्रश्न उठाइरहेका बेला, कन्चनपुरमा एक कैदी फेरि आपराधिक घटनामा संलग्न भएको तथ्य बाहिर आएको छ । जेनजी आन्दोलनको उथलपुथललाई अवसर बनाएर कन्चनपुर कारागारबाट फरार भएका ३५ वर्षीय दीपक सुनार भोलिपल्टै पुनः बलात्कार प्रयासमा मुछिएपछि पक्राउ परेका छन् ।
दोधाराचाँदनी नगरपालिका–१ का सुनार यसअघि पनि बलात्कार कसुरमा दोषी ठहर भई अदालतले ९ वर्षको कैद सजाय सुनाएको व्यक्ति हुन् । दुई वर्षदेखि कैद भुक्तान गरिरहेका उनी आन्दोलनकै क्रममा कैदीबन्दी सामूहिक रूपमा कारागार तोड्दै फरार हुँदा बाहिरिएका थिए । तर फरार भएको भोलिपल्टै उनले दोधाराचाँदनीकै ५० वर्षीया महिलामाथि बलात्कारको प्रयास गरेको आरोप लागेको छ ।
बुधबार साँझ खाना खाएर सुतेकी ती महिलालाई सुनारले जबरजस्ती गर्न खोजेपछि महिला चिच्याउँदै प्रतिकार गरेकी थिइन् । उनका चिच्याहट सुनेर स्थानीयहरू एकत्रित भएका र सुनारलाई खेततर्फ भाग्दै गर्दा लखेटेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। त्यसपछि उनलाई इलाका प्रहरी कार्यालय दोधारामा बुझाइयो ।
जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रमुख एसपी खडकबहादुर खत्रीका अनुसार स्थानीयको सक्रियतामा पक्राउ परेका सुनारलाई फेरि कारागारमा पठाइएको छ । प्रहरीका प्रवक्ता सागर बोहराले बताएअनुसार कन्चनपुर कारागारमा ४७९ कैदीबन्दीमध्ये हालसम्म ४५ जना नियन्त्रणमा परेर पुनः कारागार फिर्ता भइसकेका छन् ।
सुनार पनि त्यसमध्ये एक हुन्, तर उनको पुनः पक्राउ आपराधिक गतिविधि दोहोर्याएर भएको हो। यसअघि बलात्कार मुद्दामा दोषी ठहर भई जेल परेका उनी, कारागारबाट भागेपछि पनि उही किसिमको अपराधमा संलग्न हुन पुगेको तथ्यले कानुन कार्यान्वयन र सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ। अहिले कन्चनपुर कारागारमा जम्मा ६६ जना मात्र कैदीबन्दी रहेको र बाँकी अझै फरार रहेको प्रहरीले जनाएको छ ।