सिन्धुली,११ भदौ – जिल्लाको गोलन्जोर गाउँपालिका–७ तल्लो बजारस्थित रिफ्रेस सेन्टर एक वर्षपछि पुनः सञ्चालनमा आएको छ । गत वर्ष २०८१ असोज ११ गते आएको बाढी र पहिरोका कारण क्षति भई बन्द भएको यो केन्द्रलाई बुधवार पुनः उदघाटन गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल प्रमुख अतिथि रहनुभएको उदघाटन कार्यक्रममा प्रहरी उपरीक्षक लालध्वज सुवेदी, गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख सुदीप अधिकारी र सहायक प्रजिअ सुवर्ण पोख्रेललगायतको उपस्थिति उल्लेखनीय थियो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार रिफ्रेस सेन्टर सञ्चालनमा आउनुले विपद् प्रभावित क्षेत्रमा सामाजिक पुनःस्थापना र सामुदायिक एकताको सन्देश दिएको छ । प्रमुख जिल्ला अधिकारी भुषालले उदघाटन कार्यक्रममा बोल्दै यसलाई अझ व्यवस्थित र सुरक्षित बनाउन स्थानीय तह र प्रशासन निरन्तर सहयोग गर्ने आश्वासन दिनुभयो ।
उक्त उदघाटन कार्यक्रममा करिब ६५ देखि ७० जना स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो। स्थानिय बासिन्दाले लामो समयदेखि बन्द रहँदै आएको रिफ्रेस सेन्टर पुनः सञ्चालनमा आएसँगै सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिहरू सहज हुने अपेक्षा व्यक्त गरेका छन् ।
बाढी–पहिरोका कारण स्थायी संरचना र भौतिक सुविधा नष्ट भएपछि बन्द रहेको यस केन्द्रलाई पुनः सञ्चालन गर्न स्थानीय तह र सम्बन्धित निकायहरूको पहलमा मर्मत–सम्भार गरिएको हो । स्थानीयले यसलाई सामुदायिक जमघट, सार्वजनिक छलफल र विभिन्न कार्यक्रमहरूको लागि उपयोगी स्थलका रूपमा लिने अपेक्षा राखेका छन् ।