काठमाडौं,२ भदौ – नेपाली फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ मा समावेश “लड्की गोरी’ बोलको गीतले युट्युबमा दर्शकको मन जित्दै रेकर्ड बनाएको छ । शुक्रबार सार्वजनिक भएको यो गीतले दुई दिनमै १० लाख भ्युज पार गर्दै भाइरल भएको हो । गीतको विशेष शैली र आकर्षक प्रस्तुतिले गर्दा युवा पुस्तामाझ यो निकै लोकप्रिय बनेको छ ।
भोजपुरी लवजमा तयार भएको यो गीत विशुद्ध डान्सिङ प्याटर्नमा छ । यसको लय र तालले गर्दा यो गीत मेला, महोत्सव र विभिन्न उत्सवहरूमा नाच्नका लागि उपयुक्त बनेको छ । विशेषगरी तराई क्षेत्रमा भोजपुरी गीतहरूको लोकप्रियता उच्च रहेको हुँदा नेपाली शब्द प्रयोग गरिएको यो गीतले तराई–मधेसमा सदाबहार हुने सम्भावना बोकेको छ । यसका शब्दहरू सरल र आकर्षक भएकाले दर्शकले सहजै आत्मसात् गर्न सकेका छन् ।
गीतमा प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको सुमधुर स्वर र संगीत सुन्न सकिन्छ । गीतको संगीत संयोजन विषम आचार्यले गर्नुभएको हो । यस गीतमा जुना सुन्दासले आकर्षक आइटम डान्स गर्नुभएको छ भने कोरियोग्राफी रोहन विश्वकर्माले गर्नुभएको हो । गीतको दृश्यांकन पनि उत्कृष्ट रहेकाले यसको लोकप्रियतामा थप टेवा पुगेको छ ।
निर्देशक सुशान्त गौतमको डेब्यु फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ ले पैसाको प्रलोभनमा फसेको र त्यसबाट बाहिर निस्कन संघर्ष गरिरहेको एक व्यक्तिको कथा प्रस्तुत गर्ने बताइएको छ । फिल्मको लेखन मुकेश खनालले गर्नुभएको हो भने यसको क्रिएटिभ निर्देशक मदन थापा हुनुहुन्छ । फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला जस्ता कलाकारहरूको मुख्य भूमिका रहेको छ ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यस फिल्मका निर्माताहरू विनोद पौडेल र गुञ्जन गिरी हुनुहुन्छ । सह–निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ रहनुभएको छ । कार्यकारी निर्माताहरूमा भने विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ हुनुहुन्छ । फिल्मको पोस्ट–प्रोडक्सनको काम जारी रहेको र यसमा मनोज श्रेष्ठ (भिएफएक्स), सुप्रिम पराजुली (रंग संयोजन) र मदन घिमिरे (सम्पादन) को भूमिका रहेको छ ।
फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते नेपालभर रिलिज हुँदैछ । यसको हिन्दी भर्सन भने असोज ६ गते (सेप्टेम्बर २२) मा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ । ‘लड्की गोरी’ गीतको सफलताले फिल्मप्रति दर्शकको चासो बढाएको र यसले बक्स अफिसमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
https://youtu.be/u20sbn290M4