शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

यस्तो छ आज सोमवारको मौसम पूर्वानुमान

सोमवार , भाद्र २, २०८२

काठमाडौं,२ भदौ – मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभरको मौसममा सामान्य बदली भई केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर सरेकाले नेपालमा मनसुन केही कमजोर देखिए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम जारी रहेकाले वर्षाको सम्भावना कायम रहेको हो ।

हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु मध्यम वर्षा भईरहेको छ र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा हल्का वर्षा भईरहेको छ ।

महाशाखाका अनुसार, आज दिउँसो देशभर सामान्य बदली रहनेछ । कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशको तराई तथा पहाडी भेगका साथै देशका अन्य पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुनेछ । त्यसैगरी, बाँकी तराई भू–भागका केही ठाउँमा पनि हल्का वर्षाको सम्भावना छ । सबैभन्दा बढी वर्षाको सम्भावना लुम्बिनी प्रदेशको तराई र बागमती प्रदेशको पहाडी भू–भागमा रहेको छ, जहाँ एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ । यसका कारण नदीनालामा पानीको सतह बढ्न सक्ने र बाढी तथा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।

आज राती पनि कोशी र मधेश प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली हुनेछ । मधेश, कोशी प्रदेशको पहाडी तथा तराई भेग र अन्य प्रदेशका पहाडी भेगका थोरै स्थानमा मध्यम वर्षा हुनेछ । यसबाहेक, अन्य तराई भू–भागका एक–दुई ठाउँमा पनि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई भेग तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

निरन्तरको वर्षाका कारण विशेषगरी पहाडी क्षेत्रमा पहिरो र तराईका क्षेत्रमा बाढीको जोखिम बढ्न सक्छ । महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका बासिन्दाहरूलाई सचेत रहन आग्रह गरेको छ । खोला तथा नदी किनारका बासिन्दाले सुरक्षित स्थानमा बस्नुपर्ने, यात्रा गर्दा पहिरोको जोखिम भएका सडक खण्डमा विशेष सावधानी अपनाउनुपर्ने र आवश्यक परेमा स्थानीय प्रशासनसँग समन्वय गर्न सुझाव दिइएको छ । कृषि क्षेत्रमा पनि वर्षाले असर पार्न सक्ने भएकाले किसानहरूलाई पनि आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

मनसुन सक्रिय रहेकोले अझै केही दिन मौसममा उतारचढाव रहने र अचानक ठूलो वर्षा हुन सक्ने भएकाले मौसम पूर्वानुमानको नियमित अपडेट लिइरहन महाशाखाले सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया