शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिँचाइको मोटर, हरियालीको आशा

बुधवार , श्रावण १४, २०८२

धनुषा जिल्लामा पानी नपरेकाले किसानहरूलाई कृषी कार्यमा निकै कठिनाइ भइरहेको थियो । पानीको अभावले सिँचाइमा समस्या उत्पन्न भई खेतीयोग्य जमिनले उर्बरताशक्ती गुमाउन थालेको थियो । विशेषगरी गर्मीको समयमा पानीको कमीले धान, तरकारी लगायतका बालीहरूमा प्रभाव पर्नुका साथै किसानहरूको आम्दानीमा कमी आएको पाईन्छ ।

यसले गर्दा किसानहरूलाई खेत जोत्न, बीउ रोप्न र बालीलाई आवश्यक मात्रामा पानी दिन समस्या भइरहेको थियो । पानी नपरेकाले किसानहरूले खेती गर्न नसक्नुका साथै खाद्यान्न उत्पादनमा पनि कमी आउँदै गएको थियो । यस कारणले खाद्य उत्पादनमा जोखिम बढेको थियो र स्थानीय जनजीवनमा समेत नकारात्मक प्रभाव परिरहेको थियो ।

धनुषा जिल्लामा सिँचाइको व्यवस्थापनमा सुधार गर्न आवश्यक छ । सिचाईका लागि आधुनिक प्रविधि र स्रोतहरूको सदुपयोग गरी किसानहरूलाई सहयोग गर्नुपर्ने देखिन्छ । साथै वर्षाको जल सञ्चय, साना ताल तलैया निर्माण र सिँचाइ पूर्वाधारलाई मजबुत बनाउन ठोस पहल गर्नुपर्ने अवस्था छ । जसले गर्दा किसानहरूलाई निरन्तर पानी उपलब्ध गराउन सकिएमा कृषि विकासमा सकारात्मक प्रभाव पर्दछ ।

यहाँ कृषि विकासमा सकारात्मक प्रभाव पार्न जानकी महिला जागरण समाज द्वारा सञ्चालित “जलवायु–मैत्री आर्थिक रूपान्तरणमार्फत महिला सशक्तिकरण” परियोजना अन्तर्गत धनुषा जिल्लाका विभिन्न पालिकाहरूमा किसानहरूलाई मोटर वितरण गरिएको थियो । यो परियोजनाले साना किसानहरूलाई सिँचाइका लागि आवश्यक मोटर प्रदान गरेर उनीहरूको कृषि उत्पादनमा सुधार ल्याउन सहयोग पु¥याएको छ ।

जानकी महिला जागरण समाज द्वारा सञ्चालित ‘जलवायु–मैत्री आर्थिक रूपान्तरणमार्फत महिला सशक्तिकरण” परियोजनाले किसानहरूलाई सिँचाइका लागि मोटर वितरण गरेर उनीहरूको समस्याको समाधान गरेको पाईन्छ ।

धनुषा जिल्ला सधैँ सूर्यको तापमा बलिरहेको थियो । तर त्यो उज्यालो गाउँका खेतहरूमा हरियाली बोकेर आउँदैनथ्यो । वर्षाको भर पर्ने कृषि प्रणालीमा, वर्षा नभएपछि जीवन पनि सुनसान हुन्थ्यो । खेत बाँझो, अनुहार मलिन, भविष्य अध्यारोजस्तै लाग्दथ्यो । त्यहाँका किसानहरूको गुनासो एउटै थियो, “पानी छैन भने खेती कसरी गरौँ ?” जब सिँचाइ गर्नुपर्ने बेला आउँथ्यो, तब उनीहरू भाडामा मोटर खोज्थे । तर पैसा नहुँदा भाडा तिर्नै मुस्किल पर्दथ्यो । पैसा भएतापनि मोटर नपाइने समस्याले सताउँदथ्यो । कहिलेकाहीँ छिमेकीसँग मोटर माग्थे तर सधैंको लागि त्यो सम्भव कहाँ हुन्थ्यो र ? बिउ राख्न ढिला हुन्थ्यो, खेतमा चिरा पर्दथ्यो, सोचेजस्तो उब्जनी हुँदैनथ्यो ।

तर त्यो अवस्था धेरै दिन टिक्न सकेन जब जानकी महिला जागरण समाजद्वारा सञ्चालित रिसेट परियोजना गाउँमा आयो तब साना किसानका हातमा सिचाइका लागि निःशुल्क मोटर आइपुग्यो । त्यो मोटर मात्र यन्त्र थिएन — त्यो त एक आशा थियो । अब किसानहरु वर्षाको पर्खाइमा बस्नुपरेन । खेतमा जुनसुकै बेला सिँचाई गर्न सकिने भएपछि, उनीहरूले समयमै बीउ राख्न थाले र समयमै खेतीहुन थाल्यो । अब सिँचाइका लागि निःशुल्क मोटर पाएपछी किसानहरुले धान मात्र होइन मकै, गहुँ र तरकारी जस्ता बाली पनि लगाउन थाले । सधैँ वर्षाको भर पर्ने किसानहरूको खेतमा अब चिरा पर्न छोड्यो, बीउ मर्न छोड्यो र बर्खा नभए पनि खेत हरियालीले ढकमक्क हुन थाल्यो । किसान लगायत तराई नेपालको अन्नको भण्डार भएकाले सम्पुर्ण नेपालीको मुहारमा बालीले मुस्कान ल्याउँन थाल्यो ।

किसानहरू भन्छन् ,“अब अरूको मुख हेर्नु पर्दैन, आफ्नै मोटर छ, आफ्नै मेहनत छ ।” आज ती खेतहरूमा नजाउँ, जहाँ पहिले धूलो उड्थ्यो । आज ती अनुहारहरू हेर्नुस्, जहाँ पहिले निराशा देखिएको थियो । किनभने अहिले, सिँचाइको मोटरले मात्र होइन, आत्मविश्वासले पनि खेत सजिएको छ ।

समयमै प्रदान गरिएको सहयोगले किसानको जीवनशैली मात्र होइन, सोच्ने तरिका नै बदलिएको छ । सिँचाइका लागि पाइएको मोटर एउटा साधन भए पनि, त्यसले ल्याएको परिवर्तन अमूल्य छ ।

धनुषा जिल्लामा पानीको अभावले कृषकहरूको जीवनमा गम्भीर चुनौतीहरू उत्पन्न भएको थियो । सिँचाइको समस्याले उत्पादन घटाउँदै लग्दा किसानहरूको आशा पनि ओइलाउँदै गएको थियो । तर जानकी महिला जागरण समाजद्वारा सञ्चालित “जलवायु–मैत्री आर्थिक रूपान्तरणमार्फत महिला सशक्तिकरण” परियोजनाले साना किसानहरूलाई निःशुल्क सिँचाइ मोटर उपलब्ध गराएर उनीहरूको जीवनमा परिवर्तन ल्याएको छ । अब खेतहरूमा हरियाली फर्किएको छ, बिउ समयमै राखिएको छ, र उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ ।

यसले देखाउँछ कि सहि समयमा दिइएको सहयोगले मात्र होइन, सही सोच र प्रविधिको पहुँचले पनि किसानहरूको भविष्य उज्यालो बनाउन सक्छ । सिचाइको मोटर एउटा उपकरण मात्र नभई आशा, आत्मबल र सम्भावनाको प्रतीक बनेको छ । यस्तो खालका पहलहरूले कृषि आत्मनिर्भरता र ग्रामीण समृद्धिको दिशामा एक महत्वपूर्ण कदम हुने स्पष्ट देखिन्छ ।

प्रतिक्रिया