हामी सँधैं रक्ष्यात्मक स्थितिमा र संसद उपयोगका नाममा अलमलमा रहनुहुन्न । रहने पनि छैनौं । मानिस लेख्न त जुनसुकै अवस्थामा पनि लेख्छन् र उकुसमुकुस भएपछि पनि लेख्छन् । साम्राज्यवाद र त्यस्का सन्तान विस्तारवाद र घरेलु प्रतिक्रियावाद मुख्यतः दलाल पुँजीवादी वर्गले जनस्तरमा फैलाएको भ्रम र षड्यन्त्र बिरुद्ध लेख्नैपर्ने भएपछि लेख्न पुगेको छु ।
जनयुद्ध साँच्चिकै शोषितपिडित जनताको त्याग, साहस, समर्पण र वलिदानीपूर्ण संघर्ष थियो । यो कुरा शोषक वर्ग र गुलामले बुझ्नै सकेका छैनन् । उनीहरू भयंकर ठूलो जालसाँची र भ्रम पालेर बसेका छन् ।
गणतन्त्र अगाडिका अनेकथरी शासनव्यवस्थामा सामन्ती र शोषकीको राज्यमा जनताको जीवन दर्दनाक र तहसनहस नै थियो । शोषण, दमन, उत्पिडन, अत्याचार, अन्याय, विभेद आदि सहेर बाँच्नुपर्ने जीवन त्यसै पनि दर्दनाक नै हुन्छ नै, त्यसमा पनि अभाग, असुरक्षा, गरिबी, भोकमरि, रोगले जनता ग्रसित थिए । निरङ्कुश सामन्ती प्रतिक्रियावादी सत्ता बिरुद्ध संघर्ष गर्दा नेपाल र नेपाली जनता तहसनहस भएको बुझ्ने पनि तिनै सामन्त र शोषकी वर्ग हुन् ।
नेपालको राजनीतिक आन्दोलनमा देशी– विदेशी कुनै पनि प्रतिक्रियावादीको सम्पर्क, सम्बन्ध, सम्लघ्नता र निर्देशनबाट मुक्त जनगणतन्त्र स्थापनार्थ भैरहेको आन्दोलन नै जनयुद्ध मात्र हो ।
जब जनयुद्धको बीचमा प्रतिक्रियावादी पंक्तिमा फुट आएपछि लोकतान्त्रिक गणतन्त्र प्राप्तिको सम्भावना देखियो त्यसपछि यसका लागि माओवादीले सहयोग र समर्थन जुटाएर अहिलेको अवस्था आएको छ । जनयुद्ध कम्युनिस्ट आन्दोलनको दशकौंको प्रयासहरूपछि भएको एउटा युगान्तकारि ऐतिहासिक परिघटना हो । यसमा विदेशी प्रभाव देखाउने दुष्टहरूको कटाक्ष घिनलाग्दो छ । जनयुद्धको अवधिभर कुनै १ जना विदेशी शक्तिकेन्द्रहरूका व्यक्तिले भेटेको तथ्यका लागि माओवादीले दिएको चुनौतिको सामना गर्ननसकेका दुष्टले जनतालाई भ्रममा पार्न स्यालहुइयाँ गरिरहेका छन् । तिनका अपराध इतिहासको चिहानमा दफनाइनेछ ।
अहिले हामी राज्यसत्ता प्राप्तिको बीचमा रक्ष्यात्मक चरणबाट गुज्रिरहेका छौं ।सत्ताको सवालमा बुर्जुवा सत्ता कि सर्वहारा सत्ता भन्ने हुन्छ । समाजमा रहेका अन्य वर्गहरूका आफ्नै छुट्टै सत्ता हुँदैन । तपाईं–हामी वा समाजका अन्य मानिस विभिन्न वर्गहरूका छौं । हामीहरू कि त शोषकीहरूको बुर्जुवा सत्ताको पक्षधर हुनुपर्छ कि त शोषितपिडितको सर्वहारासत्ताको पक्षधर हुनुपर्छ । यो आआफ्नो चेतनास्तरको सवाल हो । यो युग सर्वहारावर्ग र साम्राज्यवादको सत्ता खोसाखोसको युग हो । साम्राज्यवादले सर्वहारा सत्ता भत्काउन मुख्य लक्ष्य राखेका र सर्वहारा वर्गले पनि राज्यसत्तालाई नै लक्ष्य बनाएको कारण यही हो । राज्यसत्ताको सवालमा गहिरिएर अध्ययन अनुसन्धान गर्नुस्, यही निश्कर्षमा पुग्नुहुनेछ सायद !