सिन्धुली ,३ असार – आज सिन्धुली सहित १८ जिल्ला एल्लो वारेन्टमा परेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सिन्धुली, दोलखा, सिन्धुपाल्चोक सहित १८ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो वारेन्ट दिएको हो । जसअनुसार दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, सोलुखुम्बु, संखुवासभा, खोटाङ, गोरखा, तनहु, लमजुङ, कास्की, स्याङजा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुरपूर्व, पाल्पा र रुपन्देही एल्लो वारेन्टमा छन् ।
कुन रङको जोखिम कस्तो ?
यो बुलेटिन तयार पार्ने हाइड्रोलोजिस्ट इन्जनियर सौहाद्र्र जोशीका अनुसार पहेलो रङले जलसतह सतर्कता तह आसपास पुग्ने र बाढीको मध्यम जोखिम रहेको संकेत गर्छ । हरियो रङले जलसतह सतर्कता तहभन्दा तलै रहने र बाढीको न्यून जोखिम हुने संकेत गर्छ । सुन्तला रङले भने जलसतहले सतर्कता तह पार गर्ने र बाढीको उच्च जोखिम रहेको संकेत गर्छ । रातो रङले जलसतहले खतरा तह पार गर्ने र बाढीको अति उच्च जोखिम हुने संकेत गर्छ ।
आजदेखि ३ दिन कोसी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने अनुमान छ । तर, बाढी घटबढ भइरहने तथा नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने सम्भावना देखिएकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता आवश्यक छ ।
३७ जिल्लामा बाढीको जोखिम
बाढी महाशाखाले दिएको जानकारीअनुसार आज काठमाडौँसहित देशका ३७ जिल्ला र आसपासका क्षेत्रमा बाढीले जोखिम निम्त्याउने सम्भावना छ ।
आज पाँचथर, तेह्रथुम, ओखलढुंगा, ताप्लेजुङ, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, काभ्रे, मकवानपुर, काठमाडौँ, गोरखा, तनहु, लमजुङ, कास्की, स्याङजा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुरपूर्व, नवलपुरपश्चिम, अर्घाखाँची, पाल्पा, रुपन्देही, बाँके, दाङ, प्युठान, जाजरकोट, बैतडी, दार्चुला, बझाङ, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई वहने अधिकांश ससाना नदीहरूमा बहाब सामान्य बढ्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आवश्यक छ । यी मध्ये १८ जिल्ला एल्लो वारेन्टमा परेको महाशाखाले जनाएको छ ।
