शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

यस्तो छ आज सोमवारको मौसम पूर्वानुमान

सोमवार , आषाढ २, २०८२

काठमाडौँ,०२ असार – हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा औसतभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ । विभागका अनुसार हाल कोशी प्रदेशबाट सुरु भएको मनसुन क्रमशः पश्चिमतर्फ विस्तार हुँदै लुम्बिनी प्रदेशसम्म पुगिसकेको छ ।

मनसुनजन्य सम्भावित जोखिमहरूलाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा तयार गरिएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको छ ।

प्राधिकरणका अनुसार मनसुन अवधिमा बाढी, पहिरो, डुबान, चट्याङजस्ता विपद्का कारण देशभर करिब १९ लाख ९७ हजार बढी जनसंख्या प्रभावित हुनसक्ने अनुमान गरिएको छ । उक्त कार्ययोजना संघीय सरकार, प्रदेश सरकार, जिल्ला प्रशासन, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सबै सरोकारवालालाई सम्प्रेषण गरिएको छ ।

प्रतिक्रिया