शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

भ्रष्ट्रचारीहरु लाई कारवाही गर

बिहिवार , जेठ ३०, २०८२

सामान्य अर्थमा भ्रष्ट्र आचरण एवं व्यवहारलाई भ्रष्ट्राचार भन्ने गरिन्छ । कतिपयले यसलाई आर्थिक विषयमा मात्रै केन्द्रित गरेर बुझ्ने गर्दछन् । तर भ्रष्ट्राचारले बहुआयामिक अर्थ राख्छ र यो आर्थिकमात्र नभएर सामाजिक, राजनीतिक, सांस्कृतिक व्यवहार एवं नैतिक आचरणसँग जोडिएको हुन्छ । यस मानेमा ‘भ्रष्ट्राचार’ शब्दले वहुआयामिक अर्थ राख्छ । नेपालमा भ्रष्ट्राचार दिन प्रतिदिन बढ्दै गएको विभिन्न राष्ट्रिय एवं अन्तर्राट्रिय संस्थाहरुका अध्ययन अनुसन्धान तथा प्रतिवेदनहरुले देखाउँदै आएका छन् । भ्रष्ट्राचारजस्तो सामाजिक, राजनीतिक तथा नैतिक अपराध बढ्दै जानु भनेको ठूलो समस्या र चुनौती हो । नेपालमा भ्रष्ट्राचार यतिबेला घट्दो हैन बढ्दो क्रममा छ । यो मुलुकको एउटा प्रमुख समस्या बन्न पुगेको छ ।

नेपालमा भ्रष्ट्राचार धेरै पुरानो रोग हो । नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको घुस लिने र दिने दुबैलाई राष्ट्रका शत्रु करार गरेका थिए । त्यसपछि राणा शासनकालमा पनि राणाहरुले राज्यको दोहन र जनतालाई चर्काे कर लगाएर चुसेका थिए । पञ्चायतकालमा पनि भ्रष्ट्राचार थियो तर त्यो बेला भ्रष्ट्रहरु डराउँथे । तर राजदरबारनजिकका केही सीमित व्यक्तिहरुले धेरै बदमासी गर्दथे । २०४६–०४७ मा बहुदल पुनस्र्थापना भएपछि र २०६२–०६३ मा गणतन्त्र आएपछि भ्रष्ट्राचार झन बढेको सत्य हो । यो विशेषगरी कर्मचारीहरुलाई ट्रेड युनियन अधिकार दिंदा स्थायी सरकार मानिने कर्मचारीतन्त्र थप भ्रष्ट्र बन्न पुग्यो । राजनीति गर्नेहरु धेरैजना कमाउ धन्दामा लागे । यसबीचमा केही मन्त्रीहरुले भ्रष्ट्राचारको अभियोगमा सजाय पाए । केहीले अहिले पनि जेलको हावा खाइरहेका छन् । राजनीतिक नेतृत्व निर्लज्ज र निर्वस्त्र देखिएको छ । उनीहरु सार्वजनिक रुपमा भ्रष्ट्रहरुको पक्षमा बोल्न संकोच मान्दैनन् । त्यसैले होला, राजनीति पनि उद्योग व्यापार जस्तै कमाउ धन्दा बन्न पुगेको छ ।

पछिल्लो समयमा अख्तियर दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट्राचारी हरुमाथि कारवाही थालेको छ । अहिले भ्रष्टाचारसम्बन्धी सबैभन्दा बढी उजुरी स्थानीय तहका विरुद्ध भएको पाइन्छ । त्यसैले भन्न सकिन्छ, गाउँ, टोल, वडादेखि सिंहदरवारसम्म भ्रष्टाचार व्यापक छ । यो नेपाली समाजमा एउटा महारोगका रुपमा फैलिरहेको छ । विकास निर्माणका काममा भइरहेको बेथिति र दुर्दशा कहालीलाग्दो छ । जताकतै मुलुकमारा र ठगहरुको विगविगी छ । यी बेथितिहरुमा सत्तापक्ष त दोषी हुने नै भयो, संरक्षण गर्ने काममा प्रतिपक्ष पनि संलग्न रहेको छ । मुलुक बनाउँछौं भन्ने नयाँ दलहरुले समेत विकृत चरित्र देखाइरहेका छन् । यस्तो लाग्छ, मुलुक दुर्घटनाको बाटोमा हिंडिरहेको छ ।

यसै पनि देश विश्वमै भ्रष्ट्राचारयुक्त भनेर वर्गीकृत भएको छ, यस्तोमा देश माथिको दाग हटाउन सरकार, संवैधानिक अंगहरु नै सक्रिय र इमान्दार हुनुपर्छ । राजनीतिक नियुक्ति र भागबण्डाका कारण अख्तियार आफैं निस्क्रिय रहेको आरोपका बीच दलहरु नै सच्चिनुको विकल्प छैन । आग्रह, पूर्वाग्रह वा प्रतिशोधले होइन अख्तियारको दुरुपयोग गर्ने जो कोही दण्डित हुनुपर्छ । अनि मात्र विधिको शासन कायम गर्न सकिन्छ । देश भ्रष्ट्राचार मुक्त र सुशासनयुक्त भई विगतका दोषहरुलाई हटाउन सकिन्छ ।

प्रतिक्रिया