शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

मानव तस्करी रोक

आइतवार , जेठ २६, २०८२

नेपाली युवा,युवतिहरुलाई आकर्षक रोजागारीको लालचमा अमेरिकी, युरोपियन र अन्य मुलुक लैजाने भन्दै मानव तस्करहरूले नक्कली कागजपत्र बनाएर नेपालीलाई विदेश पठाउने ‘धन्दा’ बढेर गएको छ । गरिबी, अशिक्षा र चाँडै धनी हुने लालचका कारण पनि मानव तस्करहरूले फाइदा उठाइरहेका छन् । पछिल्लो समय अमेरिका र युरोपियन मुलुकहरूको लोभ देखाउँदै अफिकी मुलुकमा पुर्‍याउने मानव तस्करीको नयाँ रूप र सञ्जाल विस्तार भइरहेको छ । खासगरी युवतीहरूलाई राम्रो आर्थिक लाभको आस देखाउँदै अफिकाका विभिन्न मुलुकमा पठाएर तस्करी गर्ने कार्य बढ्दै गएको छ । त्यति मात्र होइन, युवतीहरूलाई विदेशी नागरिकसँग बिहे गराई तस्करी गराउने प्रवृत्ति पनि देखिएको छ। विशेष गरी चिनियाँ र कोरियन नागरिकसँग बिहे गरेर पठाउने गरेको पाइएको छ । विशेष गरी चिनियाँ र कोरियन नागरिकसँग बिहे गरेर पठाउने गरेको पाइएको छ । प्रहरीका अनुसार नेपालबाट मंगोलियन अनुहारका युवतीहरूलाई चीन र कोरियामा तस्करी गर्ने प्रवृत्ति बढेको छ ।

अझ पछिल्लो समय थाइल्याण्डलाई ट्रान्जिट बनाएर दक्षिण पूर्वी एशियाका म्यान्मार, लाओस्, कम्बोडिया जस्ता देशहरुमा भिजिट भिसाको माध्यमबाट पु¥याउने र अनलाइन स्क्यामहरुमा लगाउने गरेका घटनाहरु पनि सार्वजनिक भइरहेका छन् । यी सबै घटनाक्रमहरु मिडियामा सार्वजनिक भएका छन्, प्रहरीमा आएका सूचनामा र उजुरीमा समेत परेका छन् । यस्ता मानवता विरोधी घटना बढ्ने क्रम छन् भन्ने देखिन्छ । अवैध कार्य गर्नेहरुका लागि नेपाल स्वर्ग जस्तै हुन थालेको छ । यसकै निरन्तरता हुनसक्छ भारतीय विमानस्थलबाट पक्राउ परेका नक्कली कागजातधारी नेपालीहरुको नियति । भारतीय अध्यागमन अधिकारीहरुले गत साता मात्रै १० जना नेपालीलाई नक्कली कागजात बनाएको आरोपमा पक्राउ गरेको थियो । भारतीय बाटो प्रयोग गरी विदेश जाने कुरा नौलो त होइन तर श्रमस्वीकृति, एनओसी नै नक्कली बनाएर पठाएर आर्थिक लाभ लिने कार्य चाहिँ आपराधिक हो । तर, हामी कहाँ सरकारमा बसेकाहरुलाई नै मानव तस्करीमा संलग्न भएको आरोप लाग्दै आएको छ, जो अझै विवादमै छन् । यसले समग्र जाति र देशको दुर्नाम भएको छ ।

त्यसैले सरकारले यस्ता विषयलाई गम्भीर भएर हेर्नुपर्छ । युवाहरुलाई देशमै रोजगारीको अवसर प्रदान गर्दै टिकाउने नीति अख्तियार गर्नुपर्छ । त्यसो भए मात्र यस्ता अवैध गतिविधि नियन्त्रण हुनसक्छन् र कसैले ठगिनु र शोषित पनि हुनुपर्ने छैन । त्यसो त वैदेशिक रोजगारीको मुद्दा प्रहरीले नहेर्ने गरेकाले पनि समस्या देखिएको छ । यो अवस्थामा यसरी मानव तस्करी गर्नेहरूलाई संगठित अपराधबापतको कानुनी सजाय गर्न आवश्यक छ । सरकारले मानव तस्करी गर्नेहरूलाई कडाभन्दा कडा कारबाही त गर्नैपर्छ साथै मानव तस्करी हुनै नदिनेतर्फ ध्यान पुर्‍याउन पनि उत्तिकै आवश्यक छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया