शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा लागूऔषध दुर्व्यसन समस्या

शुक्रवार , जेठ २४, २०८२

लागूपदार्थ तथा अवैध तस्करी नियन्त्रणमा सिन्धुलीमा चुनौती बढ्दै गएको पाइएको छ । सिन्धुली लागूपदार्थ ओसारपसार तथा बिक्री वितरणको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएका छन् । भारतीय सीमा क्षेत्रबाट भित्रिएका लागूऔषध सिन्धुली हुँदै राजधानी काठमाडौँमा बिक्री वितरण हुने गरेको पाइएको छ । देशैभरि कानुनले वर्जित गरेका लागूपदार्थको कारोबार गर्ने सञ्जाल सक्रिय रहँदै आए पनि सिन्धुली प्रहरीले यस्ता कारोबारीको जालो भत्काउन भने सकेको पाइएको छैन । उसो त, प्रहरीले केही समययता सिन्धुलीका स्थानबाट प्रतिबन्धित लागूऔषधसहित कारोबारीहरुलाई पक्राउ गरेर लागूपदार्थ नियन्त्रणमा सक्रियता देखाउँदै आएको छ । लागूपदार्थ नियन्त्रणका लागि प्रहरी प्रशासनले अभियान थालेको धेरै समय भइसकेको छ । यस्तो धन्दामा संलग्न भएकाहरुको सञ्जालसम्म पुग्न नसके पनि प्रहरीले विभिन्न स्थानबाट लागूऔषध कारोबारीहरुलाई पक्राउ गरेको थियो ।

प्रहरील लागूपदार्थ नियन्त्रणका लागि सिन्धुलीमा गाँजाखेती नष्ट गर्ने, लागूऔषध कारोबारमा संलग्नलाई मुद्दा चलाई कारागार चलान गर्नेजस्ता कार्यमा सक्रियता देखाउँदै आएको छ । तथापि, लागूऔषध प्रयोगकर्ता भने दिनहुँजसो बढिरहेका छन् । लागूऔषध प्रयोगकर्ताहरुमा अधिकांश विद्यार्थी देखिनुले झनै चिन्ता बढाएको छ । लागूऔषधमा फसेका कतिपय युवालाई पुनस्र्थापना केन्द्रमा पठाइने गरेको छ । लागूऔषधमा फस्ने युवाहरु अभिभावकको निगरानीभन्दा बाहिर रहेको पाइएको छ ।

लागूऔषध प्रयोगका कारण समाजमा नकारात्मक असर परिरहेको छ । युवाहरु दिनहुँजसो यस्ता दुर्व्यसनको सिकार बनिरहेका छन् । पहिले साथीभाइको देखासिकीमा परेर लागूऔषध सेवन गर्नेहरु पछि लतका रुपमा फस्ने गरेको पाइएको छ । अहिले अधिकांश विद्यालय प्रशासन तथा अभिभावकहरुमा आफ्ना छोराछोरीको शैक्षिक गुणस्तरभन्दा बढी चिन्ता कुलतमा फस्छन् कि भन्ने त्रास बढिरहेको छ । लागूऔषधको कुलतका कारण धेरै अभिभावकहरु पीडित हुनुपरेका दृष्टान्त थुप्रै छन् । विडम्बनाको कुरा त के छ भने, लागूऔषधको कारोबारमा समाजका रक्षक मानिने सेना तथा प्रहरी नै संलग्न भएका घटना पनि सार्वजनिक हुँदै आएका छन्, जसका कारण यसको कारोबार नियन्त्रणमा चुनौती देखिएको छ ।

लागूपदार्थ दुव्र्यसनी र अवैध तस्करी बढ्नु भनेको समाज असुरक्षित र अधोगतितिर उन्मुख हुनु हो । यसले राज्यका हरेक क्षेत्रमा समस्या सिर्जना गर्छ । लागूपदार्थ दुव्र्यसनीका कारण एउटा परिवारको सुन्दर भविष्य नै चौपट हुन्छ । एउटा परिवार असुरक्षित हुनु समाज नै जोखिममा पर्नु हो । यसले कालान्तरमा राज्यकै लागि समस्या सिर्जना गर्छ । नेपालमा डाइजेपाम, नाइट्रोजेपाम, बुफिनर्फिन, फेनारगन, फेन्सिडिल, हिरोइन, चरेस, गाँजाजस्ता लागूपदार्थको सेवन तथा कारोबार गर्नु गैरकानुनी मानिन्छ । यस्ता लागूपदार्थको बढ्दो कारोबारका कारण धेरै युवाले आफ्नो अमूल्य जीवन बर्बाद गरेका छन् । करोडौं रुपियाँबराबरको धनको क्षति भइरहेको छ । सयौँ परिवार विस्थापित जीवन बाँच्न बाध्य भएका छन् । दर्जनौँ अभिभावकको स्वर्णिम सपना तुहिएको छ ।

लागूऔषधको कारोबार तथा कुलतमा फसेकालाई निरुत्साहित गर्न परिवारदेखि प्रहरीसम्मले पहिले कारोबारीहरुको सञ्जाल खोजी गर्नुपर्छ । विभिन्न पेसा र आवरणमा लागूपदार्थको कारोबारी गर्ने व्यक्तिहरुको सूक्ष्म अनुसन्धान गरी नियन्त्रण गर्नुपर्छ । लागूपदार्थ तथा अवैध तस्करीविरुद्ध प्रहरीको अभियानमा नागरिक समाज, अभिभावक र शैक्षिक संघसंस्थाको भूमिका झनै महत्वपूर्ण रहन्छ । लागूऔषध नियन्त्रण भए मात्र स्वच्छ र अपराधमुक्त समाज निर्माण हुन सक्ने भएकाले यस अभियानमा सबै सरोकारवालाको उत्तिकै सहयोग र ऐक्यबद्धता रहनु जरुरी देखिएको छ ।

प्रतिक्रिया