सिन्धुली,– नेपाली संगीत जगतमा एक ऐतिहासिक योगदान पुनः उजागर भएको छ । नेपाली इतिहासमा गौरवको प्रतीक ‘सिन्धुलीगढी’ फेरि एकपटक संगीतको माध्यमबाट गुञ्जिएको छ । इतिहास र भावनाले भरिएको ‘सिन्धुलीगढी घुमेर हेर’ गीत, जसलाई स्वर्गीय कृष्ण विक्रम थापाले स्वरबद्ध गरी सिन्धुलीलाई सांगीतिक परिचय दिनुभएको थियो, अब उहाँका छोरा राजु थापाले पुनः रेकर्ड गराउनुभएको छ ।
नेपाली लोक तथा देशभक्तिपूर्ण गीतहरूमा छुट्टै पहिचान बनाउनुभएका स्व. कृष्ण विक्रम थापा समयको कालचक्रमा गुमे पनि, उहाँको स्वरमा बनेको ‘सिन्धुलीगढी’ गीत अझै पनि जनताको मनमा अमिट छाप छाडेको छ । यही धरोहरलाई संरक्षण गर्ने र नयाँ पुस्तालाई इतिहाससँग जोड्ने उद्देश्यले उहाँको छोरा गायक राजु थापाले यो गीतलाई आधुनिक संगीत संयोजनमा पुनः रेकर्ड गर्नुभएको हो ।
राजु थापाले भावुक हुँदै भन्नुभयो, “बुबाको स्वरमा जुन आत्मा थियो, त्यो आज पनि गुञ्जिरहेकै छ । म सधैं उहाँको छायाँमा हुर्किएँ । यो गीत मेरो लागि केवल एउटा संगीत होइन, बुबाको सपना र सिन्धुलीको गौरव बोकेको धरोहर हो ।”
गीतको पुनः निर्माणमा संगीत संयोजनलाई सन्तुलित ढंगले अद्यावधिक गर्दै पुरानो भावनालाई जीवन्त राखिएको छ । गीतको भिडियो समेत निर्माण भइरहेको जानकारी राजुले दिनुभयो ।, जसमा सिन्धुलीगढीको ऐतिहासिक स्थल, त्यसको प्राकृतिक सौन्दर्य र वीरताको कथा झल्कनेछ उहाँको भनाई छ।
सिन्धुलीगढी, जहाँ नेपाली वीरले अंग्रेज फौजलाई पराजित गर्दै इतिहास रचेका थिए, त्यही गौरवलाई गीतमार्फत पुनः स्मरण गराउने प्रयासलाई स्थानीयवासी, इतिहासविद् र संगीतप्रेमीले स्वागत गरेका छन् । गीतको नयाँ संस्करणले सिन्धुलीगढीको ऐतिहासिक सन्देशलाई अझ व्यापक बनाउने विश्वास लिइएको छ । यसले सिन्धुली मात्र होइन, सम्पूर्ण नेपालीको गौरवपूर्ण इतिहासलाई सम्झाउने छ ।