शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सरसफाइ अभियानलाई नियमित बनाऔं

मंगलवार , जेठ २१, २०८२

सिन्धुलीका स्थानिय तहले फोहोर व्यवस्थापनमा जनशक्ति परिचालन गरिरहेको छ । तर पनि जिल्लामा फोहोर व्यवस्थापन चुनौतिपुर्ण बनिरहेको छ । बजार क्षेत्रमा फोहोरका ढंगुरले गर्दा स्वास्थ्यमा असर मात्र नभएर दुर्गन्ध पनि फैलिरहेको अवस्था छ । सरसफाईकालागि हरेक नागरिक जागरुक हुनुपर्नेमा राज्यलाई मात्र दोष दिने प्रवृद्धि देखिदैँ आएको छ । आफ्नै घर आसपासमा फोहोर गर्ने र राज्यलाई सराप्ने गलत प्रवृद्धिले गर्दा सफा र स्वच्छ वातावरण हुन सकिरहेको छैन । सरसफाईकालागि हरेक नागरिकमा चेतना हुने आवश्यक छ । राज्यले मात्र सरसफाईमाभ ध्यान दिएर हाम्रो क्षेत्र सफा हुदैँन । यसकालागि हरेक नागरिकले सरसफाई गर्न जरुरी छ । सरसफाईकालागि विद्यालयले पनि अह्म भुमिका खेल्न आवश्यक छ । बालबालिकालाई सरसफाईकाबारेमा ज्ञान दिन सके दिर्घकालिन रुपमा फोहोरको व्यवस्थापन हुन सक्छ । तर, किताबि ज्ञानमात्र दिने शैक्षिक संस्थाले सरसफाईकालागि बालबालिकामा ज्ञान बाड्न सकेको छैन । तसर्थ, सरसफाईकालागि सानै देखि चेतना फैलाउनतर्फ विद्यालय लगायत परिवारले जोड दिन जरुरी छ ।

विपी राजमार्गमा फोहोरको ढंगुर थुप्रिरहेको छ । केहि समयअघि सवारीसाधनमा डस्टबिनको व्यवस्था हुनुपर्ने नियम भएपनि अहिले उक्त नियमको पालना गरिएको छैन । गाढीमा डस्टबिन राख्ने नियमलाई कडाईका साथ पालना गराउनतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । राजमार्ग लगायत देशभरि नै सरसफाइ कार्यक्रमलाई मौसमी अभियानको रुपमा मात्रै चलाउने काम भइरहेको बेलामा स्थानीय सरकारले यसलाई पालिकाकै प्रतिष्ठा बनाएर अघि बढाउन खोज्नु सकारात्मक छ । योसँगै सबै पालिकाहरुले आफ्नो पालिकाभित्रको सरसफाइ अवस्थाको समीक्षा गर्दै निश्चित अभियान मात्र होइन, नियमित कार्यक्रमकै रुपमा अघि बढाउन आवश्यक छ ।

नेपाललाई खुला दिसामुक्त घोषणा गरेपछि पूर्ण सरसफाइको अभियान जसरी चल्नुपर्ने हो, त्यो अहिले ओझेलमा परेको देखिन्छ । सरकारी तथ्यांक हेर्दा देशभर सरसफाइ पहुँच ९५.५ प्रतिशत पुगेको भनिएको छ । तर, अहिले पनि अधिकांश बजार क्षेत्रमा सरसफाइको अवस्था चुनौतीपूर्ण छ । राजमार्ग क्षेत्रमा त्यस्तै समस्या छ । राजमार्ग क्षेत्रमा अहिले पनि पर्याप्त सार्वजनिक शौचालयको अभाव देखिन्छ भने गाडीभित्र उत्पादित फोहर गाडीमै राखेर निश्चित स्थानमा विसर्जन गर्नुपर्छ भन्ने सोच र संस्कार आम यात्रुलाई सिकाउन सकिरहेको अवस्था छैन । सरसफाइ कुनै अस्थायी अभियान मात्र होइन, यो हाम्रो जीवनशैली, विश्वास, व्यवहार, धर्म, परम्परा र सामाजिक चेतनासँग गहिरो रूपमा गाँसिएको सभ्यता र संस्कृति हो भन्ने तथ्य स्थापित गर्न आवश्यक छ । यसलाई दिगो बनाउनु भनेको सभ्य समाजको जग मजबुत बनाउनु पनि हो ।

सन् २०३० सम्म नेपाललाई पूर्ण सरसफाइयुक्त देश बनाउने प्रतिबद्धता भए पनि पछिल्लो समय सरसफाइ अभियान अलपत्र देखिन्छ । तर सुरक्षित र दिगो सरसफाइ सुनिश्चित गर्न अझै प्रयास आवश्यक छ। यो लक्ष्य हासिल गर्नका लागि संघीय सरकारले नीति तथा योजना निर्माण, प्रदेश सरकारले समन्वय र स्थानीय तहले नेतृत्व गर्नु आवश्यक छ भने यसमा समुदायको प्रत्यक्ष सहभागिता आवश्यक छ । स्थानीय तह मातहत वडा र वडा मातहत टोल विकास संस्थाहरु रहेकाले हरेक टोल विकास संस्थालाई आवश्यक बजेटसहित दायित्व दिने हो भने सबै टोलहरुले सरसफाइ कार्यक्रमको सफल नेतृत्व गर्न सक्छन् । यसका लागि सबै स्थानीय तहको ध्यान जानु आवश्यक छ ।

प्रतिक्रिया