शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

बंगलादेशमा जमात–ए–इस्लामीलाई निर्बाचनमा भाग लिने अनुमति

आइतवार , जेठ १९, २०८२

ढाका, १८ जेठ – बंगलादेशको सबैभन्दा ठूलो इस्लामी पार्टीको दर्तालाई आइतबार पुनःस्थापित गरिदिएको छ र उसलाई चुनावमा भाग लिन अनुमति दिएको छ ।

सर्वोच्च अदालतले जमात–ए–इस्लामीको दर्ता रद्द गर्ने निर्णयलाई उल्ट्याउँदै यसलाई निर्वाचन आयोगमा औपचारिक रूपमा राजनीतिक दलको रूपमा सूचीबद्ध गर्न अनुमति दिएको हो ।

आयोगका वकिल तोहिदुल इस्लामले एएफपीसँग भन्नुभयो, “निर्वाचन आयोगलाई कानुनअनुसार उक्त दल दर्ता गर्न निर्देशन दिइएको छ ।”

जमात–ए–इस्लामी पार्टीका वकिल शिशिर मोनिरले सर्वोच्च अदालतको फैसलाले १७ करोड जनसंख्या भएको मुस्लिम बहुल देशमा ‘लोकतान्त्रिक, समावेशी र बहुदलीय प्रणाली’लाई अनुमति दिएको बताउनुभएको छ ।

“हामी आशा गर्छौँ कि बंगलादेशीहरूले आफ्नो जातीयता वा धार्मिक पहिचानको परवाह नगरी जमातलाई मतदान गर्नेछन् र संसद रचनात्मक बहसको साथ जीवन्त हुनेछ,” मोनिरले पत्रकारहरूसँग भन्नुभयो ।

गत अगष्टमा शेख हसिनालाई प्रधानमन्त्रीपदबाट हटाएपछि उक्त पार्टीले सन् २०१३ मा उच्च अदालतको आदेश पुनरावलोकनका लागि अपिल गरेको थियो ।

सर्वोच्च अदालतले गत मे २७ मा जमात–ए–इस्लामीका प्रमुख नेता एटीएम अजहरुल इस्लामविरुद्धको सजाय उल्ट्याएपछि आइतबारको फैसला आएको हो ।

सन् १९७१ मा पाकिस्तानबाट बंगलादेशको स्वतन्त्रता सङ्ग्रामका क्रममा बलात्कार, हत्या र नरसंहार गरेको आरोपमा इस्लामलाई सन् २०१४ मा मृत्युदण्डको सजाय सुनाइएको थियो ।

युद्धको समयमा इस्लामाबादलाई समर्थन गरेको जमात–ए–इस्लामीको भूमिकाले आज पनि धेरै बंगलादेशीहरूमा उक्त समूहप्रति आक्रोश रहने गरेको छ ।

उनीहरू बंगलादेशका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री हसिनाका पिता शेख मुजिबुर रहमानका प्रतिद्वन्द्वी थिए ।

हसिनाले आफ्नो कार्यकालमा जमात–ए–इस्लामीमाथि प्रतिबन्ध लगाउनुभएको थियो र यसका नेताहरूविरूद्ध कारबाही गर्नुभएको थियो ।

गत मे महिनामा बंगलादेशको अन्तरिम सरकारले अवामी लिगमाथि प्रतिबन्ध लगाएको थियो ।

गत बर्ष अवामी लिगलाई पदच्युत गरेको विद्यार्थी आन्दोलनमा व्यापक बल प्रयोग गरेको र सर्वसाधारण र विपक्षी दल नेता तथा कार्यकताको आवाजलाई दवाउन खोजेको र पदच्युत भएपछि पनि देशमा हिंसा भड्काउने गतिविधिमा संलग्न भएको अभियोगमा आवामी लिगलाई यही बर्षको मेमा प्रतिबन्ध लगाइएको थियो ।

 

प्रतिक्रिया