काठमाडौं,१६ जेठ – यस वर्षको मनसुन सरदरभन्दा १५ दिनअघि नै भित्रिएको छ। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार मनसुन आगमन बुलेटिन जारी गर्दै बिहीबार रातिदेखि नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको जनाएको छ । जसको फलस्वरूप कोशी प्रदेशका अधिकांश मौसम केन्द्रहरूमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको अवस्था छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको महाशाखाले जनाएको छ । नेपालका अन्य भूभागहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समयमा लाग्ने देखिन्छ ।
यसपालि औसत मिति (जुन १३)भन्दा १५ दिनअगावै मनसुन नेपाल भित्रिएको छ । गत वर्ष जेठ २८ गते अर्थात् औसत मितिभन्दा तीन दिन छिटो (जुन १०) मनसुन नेपाल भित्रिएको थियो ।
तथ्यांक राख्न थालेयताकै यसपालि सबैभन्दा छिटो मनसुन नेपाल प्रवेश गरेको हो । यसअघिको छिटो मिति सन् १९९६ मा मे ३१ मा मनसुन नेपाल भित्रिएको थियो । जल तथा मौसम विज्ञान विभागले तथ्यांक राख्न थालेयताकै चाँडो त्यो वर्ष मनसुन नेपाल भित्रिएको थियो । सन् १९६८ देखि विभागले नेपालमा मनसुन प्रवेश र बहिर्गमनको तथ्यांक राखेको छ ।
सन् १९८२ मा जुन २७ मा मनसुन नेपाल भित्रिएको थियो । विभागको तथ्यांकानुसार, त्यो वर्ष सबैभन्दा ढिलो मनसुन भित्रिएको थियो । सन् २०२३ मा जुन १४ मा मनसुन नेपाल प्रवेश गरेको थियो ।
हाल देशको बाँकी भूभागमा भने पश्चिमी वायु र स्थानीय वायुको प्रभाव यथावत् रहेको देखिन्छ । महाशाखाले मौसमको अवस्थाको निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।