शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

अमेरिकाले रोक्यो विदेशी विद्यार्थीको भिसा, नेपाल पनि प्रभावित

बुधवार , जेठ १५, २०८२

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सामाजिक सञ्जाल प्रोफाइलको कडा जाँच गर्ने योजनाअन्तर्गत विश्वभरका अमेरिकी दूतावास र कन्सुलर सेक्सनहरूलाई विद्यार्थी भिसा (एफ, एम, र जे) अन्तर्वार्ता तालिका बन्द गर्न निर्देशन दिएको छ ।

अमेरिकाले सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नीतिसँगै विदेशी विद्यार्थीको भिसा प्रक्रिया पनि अस्थायी रुपमा रोक्ने निर्णय गरेको हो ।

मंगलबार जारी कूटनीतिक केबलअनुसार यहूदी–विरोधी भावना फैलाउने वा राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्न सक्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई रोक्ने लक्ष्य राखेर यस्तो निर्णय गरिएको हो । अर्को निर्देशन नआएसम्म नयाँ अन्तर्वार्ता तालिका नथप्न भनिएको छ । पहिले नै निर्धारित अन्तर्वार्ताहरू भने जारी रहनेछन् ।

विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले भिसा प्रक्रियामा ढिलाइबारे टिप्पणी गर्न अस्वीकार गर्दै प्रवेश जाँचलाई गम्भीरतापूर्वक लिइने बताएकी छन् । विदेशमन्त्री मार्को रुबियोले गत हप्ता भिसालाई ‘विशेषाधिकार’ भन्दै क्याम्पसमा बाधा पु¥याउने विद्यार्थीको भिसा खारेज गर्ने चेतावनी दिनुभएको थियो ।

यो कदम हार्वर्ड विश्वविद्यालयमाथि विदेशी विद्यार्थी भर्ना रोक्ने गृह सुरक्षा विभागको प्रयासपछि आएको हो, जुन शुक्रबार अदालतले रोकिदिएको थियो ।

ट्रम्प प्रशासनले हार्वर्डसँगको १० करोड डलरको सम्झौता रद्द गर्ने र अनुदान ट्रेड स्कुलमा स्थानान्तरण गर्ने योजना बनाएको छ । यस नीतिले नेपाली विद्यार्थीहरूलाई पनि असर गर्ने देखिएको छ । अमेरिकामा उच्च शिक्षा अध्ययनका लागि हजारौँ नेपाली जाने गरेका छन् ।

अमेरिकाले विश्वभरबाट १० लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी स्वीकार गर्छ । यसअघि लागू सामाजिक सञ्जाल जाँचलाई यो निर्देशनले थप विस्तार गर्नेछ । रोक विश्वव्यापी भए पनि कुनै देशका आवेदकमाथि विशेष छानबिन हुने हो भन्ने अझै स्पष्ट छैन ।

प्रतिक्रिया