काठमाडौं – छिमेकी देश भारतमा कोभिड–१९(कोरोना) भाइरस संक्रमण बढी रहेको खबरहरू आइरहेका छन् । भारतको स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार १५ राज्यमा गरी १००९ कोभिड–१९ भाइरसका संक्रिय संक्रमित छन् । नयाँ भेरियन्टमा देखा परेको कोभिड भाइरसबाट संक्रमित व्यक्तिहरूनेपालसँग सीमा जोडिएका उत्तर प्रदेश र पश्चिम बंगाल राज्यमा समेत फेला परेका छन् ।
कोरोना संक्रमण भएका ७ जना व्यक्तिहरूको मृत्यु भएको पनि भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ओमिक्रोनको नयाँ भेरियन्ट जेएन १ र यसका उप–भेरियन्टहरू एलएफ ७ र एनबी १.८ हाल विश्वका विभिन्न देशहरूमा फैलिएको पाइएको छ ।
एसीयाली देशहरू सिंगापुर, हङकङ, चीन, थाइल्यान्ड र भारत जस्ता देशहरूमा नयाँ केसहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ ।
यसरी यसरी अन्य देश र भारत समेत कोरोना संक्रमण बढेको खबरपछि नेपालमा पनि यसबारे चासो बढ्न थालेको छ । केही वर्षअघि जस्तै महामारीको रुप लिएर सताउने त होइन भन्ने चिन्ता आम व्यक्तिमा बढेको पाइन्छ ।
नेपालमा कोरोना संक्रमण फैलिने सम्भावना कस्तो छ ? अहिले देखिएको नयाँ भेरियन्ट कत्तिको संक्रमाक र घातक छ ? यस खालका जिज्ञासा धेरैको मनमा हुन सक्छ ।
नेपालमा के छ अवस्था ?
नेपालमा कोभिड–१९ भाइरसबारे धेरै तथ्य आइनसकेको र धेरै डराउनेपर्ने अवस्था नभएको संक्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुनले बताउनुभयो । “अहिले फैलिएको भेरियन्ट कति संक्रामक र कति घातक छ भन्ने कुरा महत्वपूर्ण हुन्छ” डा.पुनले भन्नुभयो, “छिमेकी मुलुकहरूको तथ्याकं हेर्दा धेरै संक्रामक र घातक भएको देखिँदैन, त्यसैले डराइहाल्नु पर्ने अवस्था छैन ।”
कोरोनाको खोप नलगाएका व्यक्ति, बालबालिका र दीर्घ रोगीहरूमा संक्रक्रमण देखिने सम्भावना बढी हुने भएकाले सचेत भने भइरहनुपर्ने उहाँको भनाइ छ । विगतमा कोभिड उतारचढाव भोगिसकेकाले पनि यसबारे चासो चिन्ता धेरै हुनु स्वभाविक रहेको पुनले बताउनुभयो ।
“सब–भेरियन्टहरू देखिएलगत्तै धेरैको मनमा यसको संक्रामकता र जटिलतालाई लिएर चासो, चिन्ता र जिज्ञासा उत्पन्न भएको देखिन्छ” डा.पुनले भन्नुभयो, “भाइरसहरू बेला–बेलामा परिवर्तन भइरहन्छन् । कहिलेकाहीँ घातक पनि बन्न सक्छ त्यसैले सतर्क हुन एकदमै जरुरी छ ।”
कसैलाई यसखाले लक्षणहरू देखिएमा सामान्य रुघाखोकी हो कि भनेर लापरबाही नगर्न उहाँको सुझाव छ । सामान्यतया मौसम परिवर्तन हुने समयमा र जाडो मौसममा रुघाखोकी र ज्वरोको समस्या देखिन्छ । कोरोना सङ्क्रमण हुँदा पनि रुघाखोकी र ज्वरोको लक्षण देखिने भएकोले सङ्क्रमितको सङ्ख्या बढेको बेला मानिसहरू कोरोनाको आशंका गर्न सक्छन् । तर, यो कोरोनाको सब–भेरियन्ट नै हो कि हैन भनेर पत्ता लगाउन परीक्षण गर्नुपर्ने डा. पुन लेबताउनुभयो।
के छ सरकारको तयारी ?
यो कोरोनाको नयाँ भेरियन्टसँग धेरै डराइहाल्नु नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो । छिमेकी देशतिर नयाँ कोरोना संक्रमितहरू भेटिएपछि सरकारले पूर्वतयारी थालिसकेको उहाँले जानकारी दिनुभयो ।
“छिमेकी मुलुकमा नै यो फैलिएकोले हाम्रो भारतसँग जोडिएका १७ वटा नाकामा रहेका स्वास्थ्यकर्मीहरूलाई सचेत रहन निर्देशन गरिसकेका छौँ” प्रवक्ता बुढाथोकीले भन्नुभयो, “कस्तो अवस्थामा शंका र परीक्षण गर्ने भनेर सम्झाएर परीक्षण किट पनि पठाइसकेका छौँ ।”
बुढाथोकीका अनुसार बाँकी थप नाका र अस्पतालहरूमा बिरामी आएको खण्डमा कसरी व्यवस्थापन गर्ने भनेर निर्देशन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई पनि नमुना लिएर जिन सिक्वन्सिङ आग्रह गरिएको छ । साथै टेकु अस्पताललाई पनि तयारी रहन निर्देशन दिइएको प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो ।
नेपालमा यो देखिएको छैन । छिमेकी मुलुकमा पनि केही मात्रामा मात्र देखिएकोले खासै नडराउन उहाँको आम व्यक्तिहरूलाई सुझाव छ ।
कोरोनाको नयाँ भेरियन्टको परीक्षण भइनसकेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकृत सन्तोष सुवेदीले जानकारी दिनुभयो ।“‘नयाँ भेरियन्टको परीक्षण भएको छैन, तर आवश्यक परेको खण्डमा हामी परीक्षण गर्न सक्छौँ” सुवेदीले भन्नुभयो । नियमित कोरोना परीक्षण भने भइरहेको र परीक्षणमा कोरोना संक्रमितहरू बढेको नदेखिएको सुवेदीले बताउनुभयो ।
अन्य देशमा संक्रमण बढेको थाहा पाएपछि शंकास्पद लक्षण देखिएपछि परीक्षण गर्न आउने व्यक्तिहरूको संख्या भने पछिल्लो समय केही मात्रामा बढेको सुवेदीले बताउनुभयो ।
सतर्कता जरुरी
कोभिड–१९ का प्रजातिले आफ्नो स्वरूप बदलिरहने हुँदा सधैँ ढुक्क हुन नसकिने डा.पुनले बताउनुभयो । त्यसैले सतर्कता अपनाएर स्वास्थ्य मापदण्ड पालना गर्नु जरुरी रहेको उहाँको भनाइ छ । पहिले देखि भन्दै आएका साबुन पानीले पटक–पटक हात धुने । धेरै भीडभाडमा नजाने, मास्क लगाउने । साथै खोकी, ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने परीक्षण गर्न जाने लगायतको कुरामा सचेत हुनुपर्ने डा. पुनको सुझाव छ ।