शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

बाध्यात्मक वैदेशिक रोजगारी

बुधवार , बैशाख १०, २०८२

सरकारले देशभित्र रोजगारीका सम्भावनाको पहिचान र सिर्जना गर्न नसक्दा वैदेशिक रोजगारी झन् बाध्यकारी बन्दै गएको छ । राजनीतिक अस्थिरताका कारण लामो समय विकास र आर्थिक उन्नति नहुँदा नेपाली युवा वैदेशिक रोजगारीमा जान बाध्य छन् । सरकारले कृषिक्षेत्रमा लगानी गरे धेरै युवा स्वरोजगार हुन्छन् । राज्यले पहिचान गरेर युवा परिचालन गर्न मात्र नसकेको हो,नेपाल वेरोजगारीको समस्याले आक्रान्त छ । देशमा रोजगारीको अवसर नहुनु, कृषिबाट अपेक्षित लाभ नहुनु, उद्योगधन्दा नहुनु र निजी व्यवसाय गर्ने पुँजी लगायत अन्य वातावरण नहुनुका कारण वैदेशिक रोजगारी बाध्यता बनिरहेको छ नेपालीका लागि । नेपालीले रोजगारका लागि देश छोड्नुपर्ने अवस्था नौलो भने होइन, तर पहिले सीमासँग जोडिएको देश भारत र भारतबाटै जान सकिने बर्मा लगायतका देशहरुमा केही युवा रोजगारीका लागि जाने गरेका थिए ।

देशमै रोजगारीको अवसर र सेवा नहुँदा पछिल्लो समय नेपाली युवाको विदेश गमन बाध्यता बनेको छ । परिवारको जीवनयापन र आर्थिक लाभका लागि चुनौतीको सामना गरेर पनि विदेश जानैपर्ने बाध्यतामा शिक्षित वा अर्धशिक्षित युवा वर्गले केही लाभ लिएका पनि छन् । अझ देशमा राजनीतिक परिवर्तन आएपछि यहाँ सञ्चालित ठूला उद्योगहरु निजीकरणको नाममा कौडीको भाउमा बेचियो र देशलाई झन् ठूलो आर्थिक संकटमा धकेलियो । जसका कारण अहिले झण्डै करोडको हाराहारीमा अध्ययन र रोजगारीका नाममा नेपाली युवा विदेशिएका छन् । सरकारले वैधानिक रुपमै विदेश जाने व्यवस्था गरेपछि विश्वका करिब एक सय पचास देशमा नेपाली युवा गएको तथ्यांक छ । जसका कारण वैदेशिक विप्रेषणले कूल गार्हस्थ उत्पादनको साढे बाइस प्रतिशत ओगटेको छ । कूल राजश्वको तीस प्रतिशतभन्दा बढी आय यही विप्रेषणबाट हुने गरेको सरकारी तथ्यांक छ । यसरी वैदेशिक रोजगारीबाट आर्जित विप्रेषण देशको अर्थतन्त्रको मेरुदण्ड र विदेशी मुद्रा आर्जनको गतिलो माध्यम बनिएको छ ।

नेपाली युवाको प्रमुख लक्ष्य र गन्तव्य बन्दै गएको वैदेशिक रोजगारी सबैका लागि सुखद् भने छैन । किनभने यसका नाममा कयौं युवा ठगिएका छन्, कतिले सम्झौता अनुसारको काम र पारिश्रमिक पाएका छैनन् त कति शोषणमा परेर त कतिले उतै मृत्युवरण गर्नु परेको छ । सुरक्षित आप्रवासन परियोजना सामीले प्रकाशित गरेको प्रतिवेदन अनुसार पछिल्लो चार वर्षमा झापाका एक सय छैसठ्ठी जनाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको छ । परियोजनाले विदेश गएका, फर्किएका र उनीहरुका आश्रित परिवारको हितमा काम गर्दै आएको छ । उसको तथ्यांक अनुसार चालू आर्थिक वर्षको गत पुससम्ममा बयालीस जना, गत आर्थिक वर्ष अस्सी र त्यसअघिको वर्ष चवालीस जनाको वैदेशिक रोजगारीकै क्रममा मृत्यु भएको हो । त्यस्तै त्यही चार वर्षमा चौवन्न जनाको अङ्गभङ्ग भएको थियो । वैदेशिक रोजगारी आफ्नो पारिवारिक जीवनमा सुधार गर्ने अवसर हुँदाहुँदै पनि यसभित्र आइपर्ने चुनौतीहरु धेरै छन् । यसले देशको सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा नकारात्मक असर पारेको छ, ऊर्जाशील र उत्पादनशील युवा विदेशिँदा देशमा उर्वर जमिन बाँझिएका छन् । परिवार विखण्डित हुँदैछ, पति–पत्नीबीच मनमुटान बढेको छ । यसैले राज्यले स्वदेशमै रोजगारीको अवसर जुटाउन अब ढिला गर्नुहुँदैन ।

प्रतिक्रिया