शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सडक सुरक्षामा चुनौती

बुधवार , चैत्र १२, २०८१

विकास सँगसँगै त्यसलाई व्यवस्थित बनाउन सकिएन भने विनाश पनि पुगेकै हुन्छ । रेल, हवाई तथा सडक यातायातको विकास एवं विस्तार नभएको अवस्थामा सानातिनो दुर्घटना तथा भिरबाट लडेर एकाध जनाको ज्यान जानु सामान्य मानिन्थ्यो । यातायातको द्रुतत्तर विकाससँगै सवारीसाधन दुर्घटना भएर एकसाथ धेरै मानिसको ज्यान जानु दुःखद पक्ष हुँदाहुँदै पनि सामान्य जस्तै हुनु भनेको संवेदनशील पक्ष हो । सडक सञ्जालको विकास तथा विस्तारलाई समग्र विकासको मुख्य पूर्वाधार मानिन्छ । अपशोच, यिनै सडकमा गुड्ने सवारीसाधन दुर्घटनामा परेर नेपालमा दैनिक आठ जनाका दरले बर्सेनि करिब दुई हजार पाँच सय जनाको ज्यान जाने गरेको आँकडा सार्वजनिक छ । तीब्र गतिमा सवारी साधन चलाउने, मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने, सवारी साधन चलाउँदा फोनको प्रयोग गर्नेलगायतका कारण मोटरसाइकल धेरै दुर्घटना हुुने गरेका छन् । धेरै दुर्घटना हुने सवारी साधनमध्येमा मोटरसाइकलपछि दोस्रोमा जीप÷कार रहेका छन् ।

सवारी दुर्घटना हुने सबैभन्दा ठूलो कारण चालकको लापरवाही तथा कमजोरी देखिन्छ । सवारी साधन चलाउँदा मोबाइल प्रयोग गर्ने, आफ्ना नजिकै यात्रु राखेर गफिने, मदिरा सेवन गरेर चलाउने, ठाउँ नभई ओभरटेक गर्नेलगायतका चालकका लापरवाहीले दुर्घटना निम्तिने गरेका छन् । त्यस्तै निद्रा नपुगी सवारी साधन हाँक्नु, आँखाको कमजोरी, थकान आदि कारणले पनि सवारी दुर्घटना हुने गरेका छन् । सडक दुर्घटना बढ्नुमा मापदण्डविपरीतका सवारीसाधन चलाउनु पनि अर्काे कारण हो । बढी कमाउने ध्याउन्नमा क्षमताभन्दा बढी भार बोक्दा पनि दुर्घटना हुने गरेका छन् । तीब्र गति, कमजोर पूर्वाधार, लाइसेन्स वितरणमा अनियमितता, ट्राफिक लाइट तथा संकेतको अभावले पनि दुर्घटना हुने अवस्था बनाएको छ ।

त्यसो त वर्षेनि सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना अभियानहरु चलाइने गरेको पनि छ । ट्राफिक प्रहरीले चालक तथा यात्रुहरुलाई ट्राफिक नियमको बारेमा जानकारी गराई सवारी दुर्घटनामा न्यूनीकरणको प्रयास गरेको भए पनि ती अभियान दुर्घटना न्यूनीकरणमा भने प्रभावकारी देखिएका छैनन् । सवारी दुर्घटनामा परेर दैनिकरुपमा हँुदै आएको मानवीय क्षति कम भएको छैन । त्यसैले सडक दुर्घटना रोक्न ट्राफिक प्रहरीको थप सक्रियता आवश्यक छ । ट्राफिक नियमको अनिवार्य पालना, सडक सुधार, गाडीको यान्त्रिक जाँच, तीब्र गतिलाई नियन्त्रण र पैदल यात्रुहरुले पनि ट्राफिक नियमको पालना गर्ने हो भने दुर्घटना न्यूनीकरणमा सघाउ पुग्छ नै ।

बढ्दो सडक दुर्घटनाका सम्बन्धमा धेरै छलफल हुने गरेका छन् । तर सडक दुर्घटना कम गर्न पर्याप्त काम भने हुन सकेको छैन । सीमित ट्राफिक प्रहरीको निगरानी मात्रैले यति ठूलो समस्या हल गर्न संभव हुँदैन । अर्को कुरा, सवारीसँग सम्बन्धित जाँचहरु फितलो हुने गरेको पनि देखिएको छ । जाँचका लागि खटिएका ट्राफिक प्रहरीको ‘गोजी गरम’ गरिदिएपछि दण्डित हुनुपर्ने सवारी चालक पनि सजिलै उम्किने गरेको सुनिने गर्छ । ससानो देखिए पनि यस्ता लापरवाही दुर्घटना निम्त्याउने कारक बन्ने गरेका छन् । सवारी साधन चालकहरुले पर्याप्त सावधानी अपनाउने र राज्यका निकायहरुले सडक दुर्घटनाका सन्दर्भमा पहिल्याइएका कारणहरु संबोधनमा इमान्दार भइदिने हो भने मात्र सडक दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया