शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सरसफाई लाई प्राथमिकता दिऔं

बिहिवार , चैत्र ६, २०८१

सरसफाई वैयक्तिक, पारिवारिक र सामाजिक मान, प्रतिष्ठा र इज्जतको विषय हो । यो हाम्रो सभ्यता, संस्कृति र पहिचान मात्र नभएर निरोगी तथा स्वस्थ जीवन यापनको लागि एक प्रमुख र बलियो अस्त्र पनि हो । सिन्धुलीका स्थानीय सरकारलगायत विभिन्न संघसंस्थाहरुले रसफाईको महत्व दर्शाइरहँदा पनि आम मानिस मात्र नभएर पढेलेखेका जाने बुझेकाले पनि सरसफाई व्यवहारमा खासै परिवर्तन गरेको भने पाइएको छैन । फलतः रोगव्याधी, कूपोषण, गरिबीले जकडिरह्यो । सुरक्षित पिउने पानीमा पहुँच र मानव मलमुत्रको समुचित व्यवस्थापन, ढल निकास तथा फोहर व्यवस्थापनका साथै एक व्यक्ति, परिवार, समाज तथा राष्ट्रको स्वास्थ्य सुधारको लागि गरिने तथा अपनाइने सम्पूणर् क्रियाकलापहरु, अभ्यास तथा आचरणको समग्र प्याकेज हो सरसफाई । मानव विकासको लागि यो एक प्रणाली हो, विकासको केवल एक अंग मात्र होइन प्रमुख पूर्वाधार हो । हामी स्वस्थ रहनका लागि केही आधारभूत ज्ञान, व्यवहार तथा व्यवस्था जरुरी रहन्छ ।

सिन्धुलीमा बेलाबखत सरसफाईको अभियान चलाईन्छ । विशेषगरि, विभिन्न अवसरमा सरसफाईलाई प्राथमिकता दिइन्छ । जिल्लाका निजी तथा सरकारी संघसंस्थाले पनि अवसरकै दिनमामात्रै सरसफाई गरेको दृश्य देख्न सकिन्छ । केहि दिनकालागि भएपनि कहिले ग्वाङखोलाको सरसफाई त कहिले बजार क्षेत्रमा सरसफाई हुने गर्दछ । यता, केहि स्थानिय तहले भने सरसफाईकालागि जनशक्तिनै खटाएका छन् । विभिन्न कार्यक्रमको माध्यमबाट स्थानिय तहले सरसफाईकालागि जनशक्ति प्रयोग गर्ने गरेका छन् । स्थानिय तहले मात्रै सरसफाई गरेर हाम्रो समाज सफा हुने भन्ने हुदैँन । किनभने, सरसफाईकालागि पनि स्थानिय सरकारसँग कुरिरहने हो भने सफा र सुन्दर समाजको परिकल्पना गर्न सकिदैँन । तसर्थ, समाजमा सरसफाईको संस्कार बसाउन पनि सरसफाईका अभियान निरन्तर चलाईराख्नुपर्ने आवश्यकता छ । अहिलेको अवस्थामा स्थानिय तहले नागरिकमा सरसफाई सम्बन्धि चेतना फैलाउने कार्यक्रम संचालनमा ल्याउन जरुरी छ । हाम्रो समाजमा सरसफाईलाई खासै वास्ता गरिदैँन । बालबालिका देखि वृद्धवृद्धासम्मले जथाभावि फोहोर फ्यालिरहेका हुन्छन् । बालबालिकाहरुले चकलेट खाएपछि सडकमै खोल फ्याल्ने गरेको दृश्य धेरै देख्न सकिन्छ । यसबाट के पनि पुष्टि हुन्छ भने हाम्रो समाज सरसफाईप्रति सजग छैन । न त विद्यालयहरु छन् न त परिवारनै । विद्यालयले पनि साना बालबालिका देखि ठूला विद्यार्थीलाई सरसफाईमा व्यवहारीक ज्ञान दिन सकेको छैन । विद्यालयले सरसफाईको बारेमा किताबि ज्ञान मात्र विद्यार्थीलाई दिइरहेका छन् ।

तसर्थ, विद्यालयहरुले पनि सरसफाईको संस्कार बसाउन विद्यार्थीलाई व्यवहारीक ज्ञान दिन जरुरी छ । त्यसैगरि, स्थानिय तहले पनि सडकमा डस्टबिन राख्ने लगायत सरसफाईमा अझ बढि केन्द्रित हुनुपर्दछ । अतः जिल्लामा सरसफाई अभियानलाई निरन्तरता दिदैँ समाजमा सरसफाईको संस्कार बसाउनतर्फ सरोकारवाला निकायको चासो जान जरुरी छ ।

प्रतिक्रिया