शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

ब्यापारी एकता मुख्य प्राथमिकता

बुधवार , चैत्र ५, २०८१

उधोग बाणिज्य संघ सिन्धुलीका निर्बाचित सबै पदाधिकारीहरुले व्यावसायिक एकता मुख्य प्राथमिकता भएकाले अबका दिनमा सबैपक्षलाई समेट्न सक्नुपर्छ । अतः समूहगत स्वार्थ भन्दा अब व्यावसायीक स्वार्थ हावी हुनु जरुरी छ । त्यसैले निर्वाचनमा आफू विरुद्ध उठेको पक्षलाई समेट्नु जितेका साथीहरूको सबैभन्दा ठूलो चुनौती र कर्तव्य पनि हो । ब्यापारी क्षेत्रको समस्या समाधान, आर्थिक वृद्धिमा योगदान, रोजगार वृद्धि, समृद्धि विस्तार लगायतका अजेन्डालाई प्राथमिकतामा राखेर अघि सार्नु जरुरी छ । अबका दिनमा व्यवसायी मैत्री नीतिनिर्माण, सरकारी निजी क्षेत्र सहकार्य तथा आर्थिक अजेन्डा प्रमुख बनाउन लाग्नुस भन्ने मेरो सुझाव छ ।

मित्रहरू अब व्यावसायिक एकतामा जोड दिंदै आर्थिक रूपान्तरण र समृद्धिलाई प्राथमिकतामा राख्नुस भन्ने मेरो सुझाव पनि हो । अर्थतन्त्र कमजोर भएको अहिलेको अबस्थामा निजी क्षेत्रको सबैभन्दा ठुलो संस्थाको भूमिका बलियो हुनुपर्छ । नेतृत्व कुशल र प्रभावकारी हुँदा उधोग बाणिज्य संघको प्रभाव नीति निर्माण तहमा पनि पर्न सक्छ । व्यावसायिक मुद्दाहरूमा संघले प्रभावकारी रूपमा पहल गर्दा नीति निर्मातालाई द्रुत गतिमा काम गर्न दबाब पर्छ ।

अहिले जिल्लामा लगानीको वातावरण बनाउन जरुरत देखिन्छ । संघको नयाँ नेतृत्वले बलियो भूमिका देखाउन सके समग्र जिल्लालाई आर्थिक अजेन्डामा प्रवेश गर्न सजिलो हुन्छ । यसपटक उधोग बाणिज्य संघमा एउटै गुट भन्दा पनि राम्राले जित्नुपर्छ भन्ने धेरैको प्रयास रहेको देखियो । निर्वाचन परिणामले फरक समूहका व्यवसायीहरूलाई पनि स्थापित गरेको देखाएको छ । जहाँ जे भए पनि अध्यक्ष सहितका अधिकांश अनुहार उद्योग तथा व्यापारमा सफल छन । हाम्रो जिल्लाले अहिले ठूलो आन्तरिक र बाह्य लगानी खोजिरहेको छ । यो वेला तपाईहरुको भूमिका धेरै महत्वपूर्ण हुन्छ । उद्योग वाणिज्य संघ सिन्धुली यहाँका व्यवसायीहरूको हकहित र अधिकारका लागि बनेको संस्था हो । यसमा आबद्ध व्यवसायीहरूका हक अधिकार, उनीहरूका समस्या र सुरक्षाका विषयमा खटिनु संघमा आबद्ध सम्पुर्ण पदाधिकारीहरूको पहिलो कर्तव्य बन्नुपर्छ भन्ने मेरो स्पष्ट बिचार छ ।

मलाई व्यवसायीहरूको संस्थालाई व्यवसायीहरूको ऐक्यबद्धताले नै बचाउने हो भन्ने लाग्छ । त्यसैले आगामी दिनमा अहिले चुनाव जितेर पदाधिकारी भएका र चुनाव हारेर पदाधिकारी बन्न नपाएका सबै ब्यापारी र व्यवसायीहरू मित्रहरू एकजुट भई यो संस्थालाई अघि बढाउन जरुरी छ । उद्योग वाणिज्य संघ सिन्धुलीले व्यावसायिक र औद्योगिक मुद्दाहरूलाई प्राथमिकतामा राखेर सरोकारवाला निकाए संग लबिङ गर्न सक्नुपर्छ । खुल्लाबजार अर्थतन्त्र तथा निजी क्षेत्रको सुधार, विदेशी र आन्तरिक लगानी आकर्षित गर्न नीतिगत सुधार, लगानीको वातावरण निर्माण जस्ता नीतिगत विषयमा पनि उहाँहरुले उपल्लो समितिमा लबिङ गर्न सक्नुपर्छ । मित्रहरू उद्यमशीलता आजको आबश्यक्ता हो ।

अतः उद्यमशीलताले मानिसमा आत्मसम्मान र आत्मनिर्भता बढाउनुका साथै हाम्रो जिल्ला र समग्र देश विकासमा लागि पनि योगदान दिन सक्छ भन्ने मेरो मत छ । यहाँका ब्यापारी साथीहरूले आफ्नो व्यवसायको माध्यमबाट हजारौं युवायुबतीलाई सीप हस्तान्तरण गर्दै रोजगारी सिर्जना गर्न सक्नुपर्छ । युवा उद्यमी र बिशेष गरेर उधोग बाणिज्य संघ सिन्धुलीका पदाधिकारीहरुका लागि यो आफैमा चुनौतीपूर्ण र एकदमै महत्वपूर्ण कार्य पनि हुन आउछ ।

प्रतिक्रिया