विद्यमान अवस्थामा देशको समृद्धि सर्वपक्षीय एजेण्डाको केन्द्रको रुपमा स्थापित भएको छ । समृद्धि प्राप्त गर्ने सक्ने औजार पूँजीको निर्माण हो । राष्ट्रिय आत्मनिर्भरताको लागि राष्ट्रिय उत्पादन आन्दोलन आगाडि बढाउन सक्नु आजको मुख्य कार्यभार हो । दिनहुँ नेपालबाट हजारौँको संख्यामा युवाहरु विदेशिने गरेका छन् । युवाहरुले स्वदेशमा रोजगारको अवसर नपाएर विदेशिनु परेको अवस्था छ । आवश्यक पुर्वाधार र जनशक्तिको अभावका कारण स्वदेशमा उद्यमतर्फ युवाहरु आकर्षित हुन सकिरहेका छैनन् । पछिल्लो समय धेरै युवाको रोजाइ विदेश बन्दै गएको छ । स्वदेशमै केही गर्न चाहने युवाहरुपनि विदेशिन बाध्य छन् । इज्जत , रहर ,अध्यन र बाध्यताले देशको उर्जावान् बहुसंख्यक श्रम र युवा जनशक्ति बाह्य मुलुकमा काम गरिरहेका छन् । स्वदेशमा रहने अधिकांश युवा जनशक्तिमा समेत आज विदेश जाने भोक जागेको अवस्था छ । अहिले तिनै जनशक्तिले पठाउने विप्रेषणले देशको अर्थतन्त्रको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ । यो आधारलाई लिएर राज्यले युवा श्रम शक्ति निर्यात गर्ने नीति लिनु भविष्यमा राष्ट्रको लागि आत्मघाती बाटो बन्न सक्छ । राज्यले बरु हिम्मत गर्नुपर्छ युवाहरुलाई जसरी हुन्छ उत्पादनसँग जोड्ने स्वदेशमा नै केही न केही गर्नु पर्छ भन्ने भावना जागृत गराउने एजेण्डा ब्यापक रुपमा स्थापित गर्नुपर्छ । युवाहरुलाई सहुलियतको सुविधा तय गरी देशमा लगानी भित्र्याउन अपिल गर्न अब ढिलो गर्नु हुँदैन ।
नेपालमा उत्पादन गर्न सकिने कृषि तथा कृषीजन्य बस्तु समेत ठूलो मात्रामा आयात भईरहेको अवस्थामा युवाहरु विदेशिनु नेपालका लागि सुखद कुरा होइन । हामीलाई मुर्दा समृद्धि चाहिएको होइन, हामीलाई समुन्नत समतामुलक समृद्धि चाहिएको छ । जसले द्वन्दलाई नियन्त्रण गरिरहन सकोस् । आजबाट नै यसको खोजी र पहल लिने तयारी गर्नु हरेक नागरिकको दयित्व हो । अहिले नेपालका केही ठूला घराना बाहेक नेपाली उत्पादनको पूँजीकरणको लागि ठोस पहल लिएको देखिँदैन । सरकारले मध्यम वर्गका व्यवसायिकलाई आकर्षित गर्न दिएका अनुदानका सुविधाहरु समेत बिचौलियाको हात पर्ने अवस्था छ । यस कारण मध्यम वर्गमा व्यवसायिक शुरुवाती उत्साहजनक बन्न सकिरहेको छैन । तसर्थ, युवाहरुले स्वदेशमा नै अवसरको सदुपयोग गरी देशलाई आत्मनिर्भर बनाउनतर्फ लाग्नुपर्छ । यसकालागि सरकारले पनि विभिन्न कार्यक्रमहरु ल्याएर युवाहरुलाई लाभान्वित गराउनुपर्छ । उद्यमशीलताको विकास गर्दै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न आवश्यक कानूनी तथा प्रक्रियागत सुधार, संस्थागत छलफललाई बढावा दिन आवश्यक छ । अतः सरकारले स्वदेशमै रोजगारीको सिर्जना गरी युवालाई देशको आर्थिक, सामाजिक तथा भौतिक विकासमा उपयोग गर्ने उद्देश्य लिन जरुरी छ ।