सिन्धुली-सिन्धुलीको टिनपाटन गाउँपालिकामा ग्रामिण आँखा सेवा केन्द्र स्थापना भएको छ । गाउँपालिकाको कार्यालय लाम्पान्टारमा आँखा सेवा केन्द्र स्थापना भएको हो । आइतबार आँखा सेवा केन्द्रको उद्घाटन गरिएको छ । सो अवसरमा दुइ दिन सम्म निशुल्क शिविर संचालन भएको थियो । तिनपाटन गाउँपालिकाको आयोजनामा तिलगंगा आँखा उपचार केन्द्र काठमाडौँ र हिमालय फाउन्डेशन नेपालको साझेदारीमा गाउँपालिकाको कार्यालय लाम्पान्टारमा दुइ दिन सम्म शिविर संचालन भएको हो ।
आइतबार र सोमबार आँखा शिविर संचालन भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टंक बहादुर नेगिले जानकारी दिनुभयो । शिविरमा ६५ जनाले आँखाको शल्यक्रिया गरेका छन् । शल्यक्रिया गरेका विरामीलाई चस्मा र औषधी समेत प्रदान गरिएको छ ।
आँखा सेवा केन्द्रको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष कर्ण बहादुर मगरले गाउँपालिका भित्रका आँखाका विरामीलाई उपचारको लागि बाहिर जानुपर्ने समस्या समाधान भएको बताउनुभयो । उहाँले गाउँपालिका भित्रै आँखा सम्बन्धी समस्या भएका विरामीको उपचार हुने बताउनुभयो । उहाँले सहयोगि संस्थालाई धन्यवाद समेत दिनुभएको छ । गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर मगरको अध्यक्षमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनबहादुर पुलामी, तिलगंगा आँखा अस्पतालतका प्रेसिडेन्ट थोमस बुचिल सिइयो डाक्टर रिता गुरुङ, प्रमुख प्रशासकिय अधिकृत टंक बहादुर नेगी लगाएत पालिकाका कर्मचारी र स्थानियको उपस्थिति रहेको थियो ।