जनप्रतिनिधि जनताका सच्चा अभिभावक हुन्, त्यसैले जनतालाई उत्साही बनाउँदै नयाँ पहिचानका साथ अघि बढ्न सक्ने क्षमता राख्न सक्नुपर्छ । लाभको एजेन्डालाई प्राथमिकता दिएर परिवर्तनको एजेन्डालाई ओझेलमा नपार्ने प्रणका साथ देश र जनताको सेवामा समर्पित हुनुपर्छ । पारिवारिक बन्धनबाट माथि उठेर जनसमुदायको हितमा काम गर्ने, आदर्श, इमानदारी र नैतिकताको राजनीतिमा अडिएर काम गर्नुपर्छ । प्रशंसनीय र योग्य काम गरेर उदाहरणीय व्यक्तित्वका रूपमा पहिचान बनाउँदै सही निर्णय लिने र निर्णयको अन्त्यसम्म अडिन सक्ने क्षमताको विकास गर्नुपर्छ ।
त्यस्तै आलोचना र आत्मालोचनालाई जीवन्तता दिने, आलोचनादेखि आक्रोशित र हतोत्साही नहुने, सत्यतथ्यका आधारमा तर्क प्रस्तुत गर्ने, वैचारिक रूपले आफू प्रस्ट भएर तोकिएको जिम्मेवारी पूरा गर्न लगनशील भएर लाग्ने, विचारलाई व्यवहारमा उतार्न सक्ने असल आदत, शालिन, अध्ययनशील तथा निष्ठावान् जनप्रतिनिधि जनताका नजरमा सम्मानित मानिन्छन् । असल नतिजा तथा सफलताका लागि असल चरित्र निर्माणमा जोड दिने, सादा जीवन उच्च विचारको आदर्श अँगाल्ने, जनताका लागि जस्तोसुकै त्याग पनि गर्न सक्ने अठोट बोकेको नेतृत्वलाई जनताले जनप्रतिनिधिका रूपमा छनोट गर्न प्राथमिकता दिनुपर्छ ।
तर सिन्धुली बाट निर्वाचित जनप्रतिनिधिको जिवनशैलि परिवर्तन भएको देख्दा मतदाता नागरिक छक्क परेका छन् । संघीयतापछि संघ, प्रदेश र स्थानिय सरकार छन् । तीन सरकारबाट सर्वसाधरणले व्यापक सेवासुविधा पाउने आशा गरेपनि त्यो अनुसारको काम भने हुन सकेको छैन । सिन्धुलीका नौँ वटा स्थानिय तहमा केहि बाहेक अधिकांश जनप्रतिनिधिसँग सर्वसाधरण असन्तुष्ट छन् । जनप्रतिनिधि हुनुअघि र जनप्रतिनिधि भएपछि देखिएको व्यापक भिन्नताले गर्दा धेरै प्रश्नहरु नागरिक स्तरबाट उठने गरेको छ । सामान्य जिवनशैलिमा रम्ने सर्वसाधरण जब जनप्रतिनिधिको हैसियतमा पुग्छ, उसका सपना र सन्तुष्टिको मापदण्ड झनै चुलिदैँ जाने पछिल्लो सिन्धुलीको समग्र परिपाटीले देखाउँछ । जिल्लामा औँलाले गन्नेबाहेक अधिकांश जनप्रतिनिधिबाट सर्वसाधरण सन्तोष हुन सकेका छैनन् । संघीयता भनेकै पहँुँचवालाकालागि रहेको र जनप्रतिनिधिकै हातमा समग्र शक्ति रहेको फरक बुझाई सर्वसाधरणमा परेको छ । जनप्रतिनिधिको रवैया र शक्ति दुरुपयोगले उनीहरुप्रति जनताको विश्वास गुम्दै गएको छ ।
जिल्लामा विकास निर्माणका काम नभएका होइनन् । स्थानिय सरकार गठन भएपछि विकास निर्माणले तिव्रता पाएको छ । तर, तीनै विकास निर्माणलाई देखाएर पेट भर्ने प्रवृद्धिले गर्दा भ्रष्टाचार र अनियमितता बढेको छ । स्थानिय सरकारले पाएको अधिकारको दुरुपयोग गर्दै नेता कार्यकर्ता पाल्ने प्रवृद्धि पनि नदेखिएको होइन । तसर्थ, जनप्रतिनिधिले जनताको हितमा काम गर्न आवश्यक छ । आफ्नो जिवनशैलि परिवर्तन गर्दै भविष्य बलियो बनाउने जनप्रतिनिधिले सर्वसाधरणको भविष्यमा पनि चिन्ता मान्नुपर्दछ ।