शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

वातावरण संरक्षणको आवश्यकता

सोमवार , चैत्र ३, २०८१

साधारणतया मानव जातिसँगै रहेको हावापानी, बोटबिरुवा, जंगल र त्यहाँ बस्ने पशुपन्छी सबै मिलेर बनेको आविकृत जीवनशैलीलाई वातावरण भनिन्छ । संक्षेपमा भन्ने हो भने यो प्राकृतिक सम्पदा हो । वर्तमान समयमा पृथ्वीमा रहेका केही वनस्पति तथा जीवजन्तुहरू लोप भएका छन् भने केही लोप हुने अवस्थामा छन् । यो बढ्दो वातावरण विनाशको कारणले भएको हो । मानवीय क्रियाकलापहरूबाट सिर्जित बढ्दो सहरीकरण, फोहोरमैला, आणविक भट्टीबाट निस्कने विषालु ग्यास, जनसंख्याको तीव्र वृद्धि, प्राकृतिक सम्पदाको तीव्र दोहन आदि नै वातावरणीय विनाशका प्रमुख कारणहरू छन् । वास्तवमा वातावरणीय विनाशको कारणले मरुभूमीकरण वर्षा, ओजोन तह नष्ट, बाढीपहिरो र हरित गृह प्रभाव बढ्ने क्रममा छ । विशेषतः मानवीय क्रियाकलापहरूबाट हुने वातावरणीय विनाशलाई वायु, जल, भू र खाद्य विनाशको रूपमा विभाजन गर्न सकिन्छ । आजकाल प्रत्येक देशमा वातावरणीय विनाश दिन प्रतिदिन बढिरहेको । यसको मुख्य कारण बढ्दो जनसंख्याको कारण भएको अव्यवस्थित सहरीकरण, विभिन्न पूर्वाधारहरूको निर्माण, बढ्दो मात्रामा यातायातका साधनहरूको प्रयोग, विभिन्न रासायनिक पदार्थहरूको प्रयोग आदि नै हो ।

वातावरण स्वच्छ रहे मात्र हामी बाँच्न सक्छौँ भन्ने कुरालाई ध्यान नदिई दिनानुदिन सहरीकरण, आणविक हातहतियार तथा विषालु रसायनहरूको प्रयोगले गर्दा मानव जातिको मात्र नभई पृथ्वीमा रहेका जीवजन्तु तथा वनस्पतिहरूको समेत थोरै समयमै नाश हुनसक्ने गम्भीर परिवेशहरू हाम्रा अगाडि विद्यमान छन् । त्यसैले समयमै वातावरण संरक्षणमा ध्यान दिन आवश्यक छ । वातावरणीय सन्तुलन कायम राख्न र त्यसको सुरक्षा गर्नुलाई वातावरण संरक्षण भनिन्छ । जसले वातावरणको सदुपयोग एवं व्यवस्थापन गर्न सघाउ पु–याउँछ ।

वातावरणको सिर्जना यस पृथ्वीमा रहेको जीवजगत र प्राकृतिक सम्पदाहरूको संयोगबाट हुने भए पनि यसको संरक्षणमा मानव जातिको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले वातावरण स्वच्छ राख्नु हामी सबैको कर्तव्य हो । तर, यो कुरालाई नबुझ्दा विभिन्न डरलाग्दा परिणामहरू देखापरेका छन् । मौसम परिवर्तन, मरुभूमीकरण, बाढीपहिरो, भूक्षय, अतिवृष्टि, खण्डवृष्टि आदि यसका उदाहरणहरू हुन् । दिन प्रतिदिन बढ्दो सहरीकरण, आणविक हातहतियारहरूको प्रयोग, विषालु रसायनहरूको प्रयोग आदिले गर्दा मानव जातिको मात्र नभई यस धरतीमा रहेका सम्पूर्ण जीवजन्तु तथा वनस्पतिको अस्तित्वमा समेत शंका उठेको छ ।

पछिल्लो समय नेपालमा वातावरणीय विनाशको क्रम बढ्दो छ । ठूलाठूला कन्क्रिट घरहरु बन्ने तीव्र प्रतिस्पर्धा, जथाभावी फालिएका फोहोरका पोकाहरु, खुला रुपमा गरिने दिसापिसाब, कुला, खोल्चा, बाटो, खाली ठाउँभरी प्लास्टिकले गर्दा नेपालमा वातावरण प्रदुषण भइरहेको अवस्था छ । वातावरण संरक्षणको विषय विकासको अवरोधका रुपमा नभई दिगो विकासका लागि हो । त्यसैले, वातावरण संरक्षणमा सबै जुट्न आवश्यक छ । वातावरण संरक्षणका लागि विकास कार्यहरू रोक्न आवश्यक छैन । बरु, वास्तवमा प्रदूषणको मात्रा हेरेर त्यसको दोब्बर वातावरण संरक्षणको काम गर्ने हो भने वातावरण संरक्षणमा ठूलो योगदान पुग्न सक्छ । तसर्थ, वातावरण संरक्षणकालागि सबै सचेत हुन जरुरी छ । सरकारले पनि प्रदूषण नियन्त्रणकालागि विशेष प्राथमिकता दिनुपर्छ । अव्यवस्थित सहरीकरण र त्यसबाट सिर्जित भएका समस्यालाई पहिचान गरेर समाधान गर्नुनै ठूलो उपलब्धि हो । त्यसैले, वातावरण संरक्षणमा सबै पक्ष सजग हुन आवश्यक छ । अतः वातवारण प्रदुषणकोलागि अरुलाई दोष थोपरेर पन्छिने भन्दा पनि वातावरण संरक्षणमा आफूले गर्न सक्ने योउदानलाई कार्यान्वयन गर्न जरुरी छ ।

प्रतिक्रिया