शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

समाज विनाशक लागूऔषध नियन्त्रणमा चुनौती

शनिवार , फाल्गुण १७, २०८१

लागूऔषधको दुव्र्यसन सिन्धुलीमा पछिल्लो समय बढ्दोक्रममा छ । अझ प्राप्त तथ्यांक र घटनाहरुले सिन्धुलीलाई यसको ट्रान्जिट पोइन्ट नै बनाउँदै लगेको देखाएको छ । मानिसको शारीरिक, मानसिक स्वास्थ्य एवम् चेतना, मानसिकता र व्यवहारलाई विकृत तुल्याउने लागूऔषको दुव्र्यसन बढ्नु कसैका लागि पनि उचित होइन । त्यसैले राज्यले नीति, नियम र कानून निर्माण गरेरै यसको नियन्त्रणमा जोड दिएको हुन्छ । तर, हामीकहाँ लागूऔषधको ओसारपसार, कारोबार तथा प्रयोग दिनहुँ बढिरहेको तथ्यांकले देखाएको छ । सिन्धुलीमा प्रहरीले हरेक दिन लागूऔषध कारोबारीलाई पक्राउ गरिरहेको छ । सिन्धुलीमा लागूऔषध ओसारपसार गर्नेलाई प्रहरीले दिनहुँ पक्राउ गरिरहेको छ, तर यो क्रम घटेको छैन ।

सिन्धुलीमा लागूऔषधको दुव्र्यसनको प्रभाव खासगरी युवावर्गमा अधिक रहेको तथ्यांकले देखाएको छ । यसकै अपराधका घटना भइरहेका छन् । गाँजा, कोकिन, हेरोइन र कतिपय औषधिजन्य वस्तुको अनधिकृत प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पनि गरिरहेको छ । लागूऔषध अहिले सिन्धुलीमा समस्याका रुपमा देखापरेको छ । अझ हामीकहाँ किशोरावस्थाका विद्यालय पढ्दै गरेका विद्यार्थी नै यस्तो कुलतमा फस्दै गएका छन् । खराब साथीको संगत, लहै–लहैमा लागेर र अभिभावकले उचित रेखदेख, निगरानी नगरेका कारणले लागूऔषको प्रयोग फेसन बन्दै जाँदा यसले चुनौती पनि थपेको छ ।

लागूऔषधीलाई अनुचित ढंगले प्रयोग गर्दा त्यसको असर र मानिसको केन्द्रीय स्नायु प्रणालीमा पर्छ । जसले प्रयोगकर्ताको मन, भावना र सोचाइमा परिवर्तन ल्याउँछ । यसले मानिसलाई चेतनाशून्य बनाउँछ । जसका कारण सम्झिने, बुझ्ने र अनुभूति गर्ने क्षमता कमजोर हुन्छ । त्यही वस्तुको निरन्तरको प्रयोगले शारीरिक जटिलताहरु पनि ल्याउँछ । लागूऔषधका कारण एकातिर आर्थिक क्षति हुन्छ भने अर्कातिर परिवारमा कलह, द्वन्द्व र हिंसा बढाउँछ । त्यसकै परिणाम हो कि आज हाम्रै देशमा हत्यासम्मका जघन्य प्रकृतिका अपराधका घटनाहरु घटित हुनु । त्यस्तै हिजोआज बढ्दै गएका सवारी दुर्घटना पनि लागूऔषधको दुव्र्यसनकै कारण भएको पाइएका छन् ।

समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनको व्यवस्था गरिएको छ । पछिल्लो समय लागूऔषधको प्रयोग तथा कारोबार व्यापक हुँदै जाँदा गृहमन्त्रालय र नेपाल प्रहरीले बेग्लै निकाय गठन गरेको छ । भारतसँगको खुल्ला सीमाना सिन्धुलीबाट नजिकै भएकका कारण प्रहरीको निगरानी हुँदाहुँदै पनि लागूऔषध भित्रिनेक्रम रोकिएको छैन । सिन्धुलीमा लागूऔषधको कारोबारी तथा प्रयोग बढेको दिनहुँ पक्राउ परेकाहरुको तथ्यांकले नै पुष्टि गर्दछ । भारतीय क्षेत्रबाट लागूऔषधको ओसारपसार बढिरहेकाले लागूऔषधको भयावहता देखाउँछ ।

सिन्धुलीमा औषधि व्यवसाय नै लागू पदार्थको हब बन्न थालेको देखाएको छ । लागूऔषधको प्रयोगबाट हुने अपूरणीय क्षति रोक्न सबै पक्ष जिम्मेवार र कर्मनिष्ठ हुनुपर्छ । प्रहरीले दुव्र्यसनीलाई पक्राउ गरेर मात्र समस्याको निदान हुदैन दुव्र्यसनीलाई पहिचान गर्ने र उपचार तथा पुनःस्थापनाको माध्यमबाट नियन्त्रण गर्न सकिन्छ । त्यसैले यसको नियन्त्रणका लागि स्थानीय सरकार, नागरिक समाज, सुरक्षा निकाय एवम् सामाजिक संघ–संस्थाले समन्वयसहितको सहकार्य गर्नुपर्छ । जोखिमपूर्ण उमेर समूहका युवालाई लागूपदार्थ सम्बन्धी सचेतना, शिक्षा र परिणामको बारेमा जागरुक गराउनु पर्दछ । युवालाई त्यस्ता व्यक्तिको सम्पर्कमा आउन रोक्नुपर्छ र दुव्र्यसनमा फसेकालाई उपचारका साथै पुनःस्थापित गराउनुपर्छ । सरकार समाज र देशको अगुवा भएकाले दुव्र्यसन रोकथामका लागि भएका कार्यक्रमको अनुगमन गर्दै सबैलाई दुव्र्यसनबिरुद्धको अभियानमा जोड्नुपर्छ । अनि मात्र यसको निदान हुन सक्छ ।

प्रतिक्रिया