शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

प्रजातन्त्रलाई थप दरिलो बनाऊ

मंगलवार , फाल्गुण ६, २०८१

जहाँनिया हुकुमी शासन अन्त्य भएको दिन हो, आज । राणा शासकहरुको १०४ वर्ष लामो वंशीय, निरंकुश र हुकुमी शासनलाई विदा गरी मुलुकमा ‘प्रजातन्त्रको दियो’ बालिएको थियो, २००७ फागुन ७ का दिन । त्यहीकारण हामी यो दिनलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मान्ने गर्छौ । तर, प्रजातन्त्र ल्याउन योगदान दिएका योद्धा, उनीहरूको सपनाका साथै समग्रमा सरकार प्रमुख हुन् वा विभिन्न राजनीतिक दलका नेता सबैले फागुन ७ का दिन २००७ सालको जनक्रान्तिको स्मरण गर्छन्, प्रजातन्त्र दिवसको महत्वबारे व्याख्या गर्छन् । तर, उतिबेलाको परिवर्तनले देखाएको बाटोमा हिँड्न भने तयार देखिँदैनन् । त्यसैले त उतिबेला प्रजातन्त्रले निर्दिष्ट गरेको लक्ष्य हासिल हुन सकेको छैन । बरु दलका नेताहरूको अदूरदर्शिता, दीर्घकालीन सोचको अभाव र आपसी खिचातानीले प्राप्त उपलब्धि नै बेलाबखत गुम्दै आएको छ । २००७ सालको जनक्रान्तिले प्रजातन्त्रको स्थापना गरे पनि त्यसलगत्तै दलहरूमा जुन किसिमको बेमेल र अन्तरद्वन्द्व देखियो, त्यसैका कारण मुलुकले विकास र स्थायित्वको बाटो समात्न सकेन । त्यसयता प्रजातन्त्र गुम्ने र पुनस्र्थापित हुने क्रम चलिरह्यो । प्रजातन्त्र स्थापना भएको ७४ वर्ष बितिसक्दा पनि दलहरूले मुलुकलाई स्थायित्व र विकासको बाटोमा अघि बढाउन नसक्नु विडम्बनापूर्ण हो ।

२००७ सालको जनक्रान्तिले जहानियाँ राणा शासनको अन्त्य गर्दै नेपाली समाजलाई आधुनिक युगमा प्रवेश गराउने ढोका खोलेको हो । तर, प्रजातान्त्रिक व्यवस्था दस वर्ष पनि टिकाउ भएन । राजा महेन्द्रको बढ्दो महत्त्वकांक्षाका कारण २०१७ सालमा प्रजातन्त्रको कू भयो र निरंकुश पञ्चायती व्यवस्था लागू भयो । पटक–पटक भएका संघर्षको परिणामस्वरूप ०४७ सालमा प्रजातन्त्रको पुनस्र्थापना भए पनि आन्दोलनका सहयात्री दलहरूबीच लगत्तै सत्ताका लागि खिचातानी सुरु भइहाल्यो । सामान्य बहुमत ल्याएको सत्ता पक्षको व्यवहार सबै जितेजस्तो देखियो भने प्रतिपक्षमा दलमा धैर्यता देखिएन । प्रतिपक्षी दलले विरोधको नाममा सदन र सडक सबैतिर संघर्ष चलायो जसका कारण सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलको सम्बन्ध तिक्ततापूर्ण रह्यो । यसले राजनीतिमा अस्थिरता मात्रै ल्याएन, नेताहरूमा देखिएको महत्वकांक्षाका कारण एउटै पार्टीभित्र अनेकौं गुट/उपगुटको जन्म भयो । बहुमतको संसद् विघटन गर्नेदेखि आफ्नै पार्टी नेतृत्वको सरकार गिराउनेसम्मका खेल भए। एकातिर संसदीय राजनीतिको विकृत अनुहार देखियो भने अर्काेतिर हिंसात्मक आन्दोलनले मुलुकलाई द्वन्द्वको बाटोमा धकेलिदियो। त्यही सेरोफेरोमा दरबारको महत्वकांक्षा यसरी बढ्यो कि प्रजातन्त्रको घाँटी निमोठ्ने काम भयो । तर, त्यसपछि भएको शान्तिपूर्ण जनआन्दोलनले लोकतन्त्रदेखि गणतन्त्रसम्मको यात्रा तय गरे पनि दलहरूमा भने मर्यादित राजनीतिक संस्कारको अभाव देखिनु सर्वथा चिन्ताको विषय हो ।

दलहरूबीच तीव्र ध्रुवीकरण र बेमेल देखिएकै बेला आज ७५ औं प्रजातन्त्र दिवस मनाउदै छौँ । यसै सन्र्दभमा प्रजातन्त्रको लाभ आम नागरिकले प्राप्त गर्न सक्ने वाताबरण श्रृजना गर्दै प्रजातन्त्रलाई थप दरिलो,जनमुखी एव समावेशी गराउन सबैले आफनो ठाँउबाट योगदान गर्न र सहिदका अधुरा सपनाहरु पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्न आव्हान गर्दै प्रजातन्त्र दिवस २०८१ को अवसरमा सम्पूर्ण देशबासी जनसमुदायलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छौँ ।

प्रतिक्रिया