सिन्धुलीको अधिकांश जनसंख्या कृषिमा निर्भर छ । यहाँको माटो र मौसम अनुकूल भए तापनि, कृषकहरूको प्रविधि र ज्ञानको अभाव छ । आधुनिक प्रविधिहरू र राम्रो बिउ–बोटाको उपलब्धता, सिँचाइका नयाँ उपायहरूको प्रयोग र कृषि उत्पादनमा विविधता ल्याएर कृषिमा आत्मनिर्भरता ल्याउन सकिन्छ । सिन्धुलीमा कृषि व्यवसायको प्रचुर संभावना छ । जिल्लाका नौवटै स्थानिय तहमा मलिलो भुमि र खेतीयोग्य हावापानी भएको हुनाले प्रशस्त मुनाफा गर्ने प्रकारका अन्नबाली लगाउन सकिन्छ । धान, मकै, गहु, केरा लगायत तरकारी खेती यहाँ फस्टाउन सक्छ । जिल्लामा कृषि व्यवसायमा ठूलो जनसंख्या निर्भर छ । तर, कृषि उत्पादनले बजार नपाउँदा कृषकहरु मारमा पर्ने गरेका छन् । स्थानिय स्तरमा उत्पादन भएपनि बजारको अभाव र व्यवस्थापनमा देखिएको कमजोरीका कारण उत्पादन खेर गइरहेको अवस्था छ । तराईका जिल्लाबाट अहिले पनि ठूलो मात्रामा तरकारी लगायत खाद्यान्न आयात गरिन्छ । जिल्लामा उत्पादित वस्तु खेर गइरहेको अवस्थामा अन्य जिल्लाबाट तरकारी लगायतका सामाग्री आयात गर्नुपर्ने बाध्यता दुर्भाग्य हो ।
सिन्धुलीका उत्पादनहरूलाई उपयुक्त बजारमा पुर्याउने उपायहरू, जस्तै कृषकका उत्पादनहरूको उचित मूल्यमा बिक्रीका लागि सहकारी सञ्जालहरूको प्रवद्र्धन गर्नु, उत्पादनको मापदण्ड सुधार्नु आदि, सिन्धुलीको आर्थिक सशक्तिकरणमा मद्दत पुर्याउँछ । तसर्थ, जिल्लाका स्थानिय तहले स्थानिय उत्पादनलाई प्राथमिकतामा राखेर बजार व्यवस्थापनलाई जोड दिन आवश्यक छ । यातायात पहुँचको अभावले गर्दा पनि ठूलो मात्रामा कृषिजन्य उत्पादन खेर गइरहेको हुदाँ स्थानिय तहले कृषकलाई सहजीकरण गर्न जरुरी छ । जिल्लामा उत्पादित वस्तुलाई खेर जान नदिन स्थानिय तहले विशेष कार्यक्रम ल्याउनुपर्ने देखिन्छ । अतः स्थानिय उत्पादनलाई प्रोत्साहन गर्दै स्थानिय तहले आत्मनिर्भरतालाई जोड दिन जरुरी छ ।