सिन्धुली– सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा शोक बिदाको दिन मनोरञ्जन कार्यक्रम आयोजना गरिएको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिकाले गत फाल्गुन १ गते गाउँपालिकाको कार्यालय तथा मातहतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय गरेको थियो । यता सिंगो गाउँपालिका शोकमा डुब्दा जनप्रतिनिधि र कर्मचारी भने मनोरञ्जन कार्यक्रममा रमाएपछि विरोध भएको हो ।

गाउँपालिकामा कार्यरत हलुका सवारी चालक सरोज कुमार राईको क्यान्सरबाट मृत्यु भएपछि दुखद घडीमा शोक प्रकट गर्न हरिहरपुरगढी गाउँपालिकाले शोक बिदा दिएको थियो । तर, सोहि दिन यहाँका जनप्रतिनिधि र कर्मचारी भने मनोरञ्जनात्मक फुटबल प्रतियोगितामा रमाइरहेका थिए । जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद लेखनाथ दाहाल ‘राजन’ र गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाको विशेष उपस्थितिमा जनप्रतिनिधि टिम र कर्मचारीबिच मनोरञ्जनात्मक फुटबल प्रतियोगिताको आयोजना भएपछि स्थानियले विरोध गरेका छन् । शोकको दिन मनोरञ्जनात्मक कार्यक्रम गरेपछि शोकको अनादर र संवेदनहीनता भएको भन्दै विरोध गरेका हुन् । शोकको समयमा यस्तो मनोरञ्जनात्मक गतिविधि आयोजना गर्ने निर्णयको विरोध गरिएको छ, र यसले जनप्रतिनिधिहरू र कर्मचारीहरूको असंवेदनशीलताप्रति प्रश्न उठाएको छ । युवा तथा खेलकुद विकास समितिले शोक बिदाको दिन मनोरञ्जन कार्यक्रम आयोजना गरेपछि सामाजिक सञ्जालमा आलोचनात्मक टिप्पणीहरू आइरहेका छन्, जसले गाउँपालिकाका अधिकारीहरूको कृत्यप्रति जनताको गुनासो र असन्तोषलाई प्रकट गरेको छ ।