सिन्धुली– पछिल्लो दिनमा देशका विभिन्न स्थानमा भएका स्कुल बस दुर्घटनाप्रति जिल्ला प्रशासन कार्यालय सिन्धुलीले गम्भिर ध्याकर्षण जनाएको छ । स्कुल बस दुर्घटनाहरूको संख्या बढ्दै गएसँगै विद्यार्थीहरूको सुरक्षामा प्रश्न उठ्न थालेपछि सिन्धुली प्रशासनले जिल्लाका विद्यालयलाई ध्यानाकर्षण गराएको हो । शुक्रबार प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माको अध्यक्षतामा सवारी साधन भएका सामुदायिक र संस्थागत विद्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा विद्यालयको सवारी व्यवस्थित गर्न बैठक बसेको हो ।
बैठकमा विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राख्दै विद्यालय सवारी व्यवस्थापनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको थियो । बैठकमा जिल्लामा अधिकांश विद्यालयका सवारीसाधन तिव्र गतिमा गुड्ने, नियमित मर्मत सम्भार नगर्ने जस्ता समस्याहरू देखिएको प्रहरीले बताएको थियो । केही दिनअघि, काठमाडौँको शंखरापुर नगरपालिका–५ मा एक स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु र ४० जना घाइते भएका थिए । पछिल्ला दिनमा भएका विद्यालय बस दुर्घटनाप्रति जिल्ला प्रहरी कार्यालय सिन्धुलीको गम्भिर ध्यानाकर्षण भएको बताएको छ । सिन्धुलीमा विद्यालयका सवारी दुर्घटना हुन नदिन सचेत गराइएको थियो ।
विद्यालय बसहरूको अनुगमन कडा पार्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । शैक्षिक भ्रमणमा गएका विद्यालयका सवारीसाधन बढी दुर्घटना हुने गरेको उहाँले बताउनुभयो । उहाँले बसमा अनिवार्य विद्यालयको एक कर्मचारी राख्नुपर्ने बताउनुभयो । बैठकमा उपस्थित शिक्षकले ट्राफिक सचेतना कार्यक्रमको आवश्यक रहेको बताएका थिए । साथै, उनीहरुले विद्यालयको यातयातलाई व्यवस्थित गर्न सामुदायिक विद्यालयले अनिवार्य एक सहचालक राखेको र निजि विद्यालयले विद्यालयको एक शिक्षक शिक्षिका नै राख्ने गरेको बताएका छन् ।
बैठकमा विद्यालय सवारी व्यवस्थित गर्न विभिन्न निर्णय गरेको छ । विद्यार्थी सवारी सञ्चालनको क्रममा हुन सक्ने संभावित दुर्घटना रोक्न सबै सरोकारवाला निकायबीच समन्वय गर्ने निर्णय गरिएको छ । बैठकले सबै बसहरुमा जिम्मेवार शिक्षक वा कर्मचारी वा कम्तिमा जिम्मेवार सहचालकको व्यवस्था गर्ने, सडक अनुसार तोकिएको सीमा भित्र गति कायम गर्ने, सवारी साधनमा रहने चालक, सहचालक, शिक्षक वा कर्मचारीले लागुपदार्थ , मादक पदार्थ, धुम्रपान, गुट्खा सेवन नगर्ने, सीट संख्या र तोकिएको मापदण्डभन्दा बढी विद्यार्थी सवारीमा नबोक्ने निर्णय गरेको छ । यस्तै, शैक्षिक संस्थाका कार्यकारी प्रमुख र ट्राफिक प्रहरी कार्यालयबाट नियमित अनुगमन गर्ने, दुर्घटनाको जोखिम भएका सडक विन्दुहरुमा चेतना मूलक ट्राफिक चिन्ह, जेब्रा क्रसिङहरु पर्याप्त नभएकाले सो को व्यवस्थापनका लागि पालिका, सडक कार्यालय र अन्य सरोकारवालाहरुलाई अनुरोध गर्ने, शैक्षिक संस्था, स्थानीय तह, ट्राफिक प्रहरी तथा सुरक्षा निकायको समन्वयमा सचेतना कार्यक्रमहरु नियमित रुपमा संचालन गर्ने, सवारी साधनको समग्र अवस्थाको जाँच, नियमित मर्मत संम्भार तथा प्रदुषण÷नविकरण जाँचलाई कडाईका साथ कार्यान्वयन गर्ने निर्णय गरिएको छ । सडक खण्डमा निर्माण सामग्री राख नदिन सुरक्षा निकाय र ट्राफिक प्रहरीले नियमित जाँच र अनुगमन गर्ने, आगलागी नियन्त्रण लगायतका तोकिएका अत्यावश्यक उपकरणहरु सवारी साधनमा नियमित राखे, जोखिमपूर्ण स्थानहरु तथा घुम्तिहरुमा सवारी साधन नरोक्ने निर्णय भएको छ ।
जिल्लाभर ६०७ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरू रहेकोमा ६० वटा विद्यालय बस सञ्चालनमा छ । सिन्धुलीमा ४० वटा बस संस्थागत र २० वटा बस सामुदायिक विद्यालयमा संचालनमा रहेको छ ।