शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

तिमाङ जंगलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेन

आइतवार , माघ २७, २०८१

मनाङ, २७ माघ - जिल्लाको चामे गाउँपालिका–१ तिमाङ जंगलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन । यही माघ १८ गते बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तिमाङ जंगलमा लागेको डढेलो जटिल भौगोलिक संरचनाका कारण नियन्त्रणमा लिन नसकिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा संयन्त्र परिचालन गरिएको छ ।

उहाँले भन्नुभयो, “डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा निकाय परिचालन गरिएको छ । स्थानीयवासी पनि सक्रिय भएर जंगलमा खटिनुभएको छ, तर हालसम्म नियन्त्रणमा लिन सकिएको छैन ।” डढेलो समयमा नियन्त्रणमा लिन नसक्दा जङ्गलमा रहेका भेडा, च्याङ्ग्रा, याक, चोँरीका चरन क्षेत्र नष्ट भएका उहाँले बताउनुभयो ।

“आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, यहाँ हावा चल्ने भएकाले पनि डढेलोको जोखिम बढ्न सक्ने अवस्था छ”, प्रजिअ आचार्यले भन्नुभयो, “साथै राष्ट्रको गहनाका रूपमा रहेका राष्ट्रिय पन्छी डाँफेको बासस्थान र कोपिला लागेको लालीगुँरासको बोट नष्ट भएका छन् ।” जानसक्ने स्थानसम्म पुगेर सुरक्षाकर्मी र स्थानीयले डढेलो निभाउने प्रयास गरिरहनुभएको उहाँले जानकारी दिनुभयो ।

कठिन तथा जोखिम भिरमा आगलागी भएकाले डढेलो नियन्त्रणमा समस्या भएको उहाँले बताउनुभयो । अन्यत्र आगो नफैलिओस् भनेर सुरक्षित गर्ने काम भने गरिसकेको भन्दै बस्तीमा आगलागीको जोखिम नरहेको उहाँले उल्लेख गर्नुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयका प्रमुख ढकबहादुर भुजेलले हिउँ पर्ने स्थानमा हिउँ नपर्नु, सुक्खा हुनुलगायत कारणले आगलागी भएको भन्दै सुख्खा बढी भएकाले आगो नियन्त्रणमा लिन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “संरक्षण क्षेत्रमा प्रत्येक वर्ष आगलागी हुने गरेको छ । सुक्खायाम, हिउँ नपर्नु, वनजंगललमा रहेका सुकेका ठुटालगायत कारणले आगो लाग्ने गरेको हो ।”

भुजेलका अनुसार राष्ट्रिय वन क्षेत्रमा यसरी लामो समय आगलागी हुँदा बासस्थान बनाएर बसेका पशुपन्छी अन्यत्र सर्ने गरेका छन् । यसरी प्रत्येक वर्ष वन्यजन्तु तथा पशुपन्छीको बासस्थान मासिँदै गएपछि यहाँका लोपोन्मुख वन्यजन्तु पूर्ण रूपमा लोप हुनसक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट जंगललमा भएका सल्लाको काठ, धुपीजस्ता बहुमूल्य तथा औषधीय जडीबुटीको विनास हुनेसक्ने अनुमान गर्न सकिन्छ ।

जंगलमा भएका झिजा, पातपतिगंरले गर्दा आगो बढ्न सक्ने जोखिम यथावत रहेको प्रमुख भुजेलले बताउनुभयो । उहाँले भन्नुभयो, “सुख्खायाम र हुरीबतास चल्ने मौसमका कारण आगो नियन्त्रणमा लिन कठिन भएको छ ।” तत्काल जंगलमा आगलागी नियन्त्रण गर्न नसके यसको क्षेत्रफल बढ्ने उहाँको भनाइ छ । उहाँका अनुसार जंगलमा भएका वनआलु, लौडसल्ला, जटामसी, पाँचऔँले, गुची च्याउलगायत जडीबुटी डढेलोले नष्ट हुने थालेका छन् ।

आगलागीका कारण चराचुरुंगी, वन्यजन्तुको बासस्थानमा प्रभाव पार्नुका साथै चराचुरुंगी, वन्यजन्तु तथा याकचौँरीका चरन क्षेत्र नास हुन थालेको कार्यालय प्रमुख भुजेलले बताउनुभयो । यस वर्षको मरयता ताल, आइसलेक, पिसाङ भिर आगलागी भएको कार्यालयले जनाएको छ ।

यसअघि ०७७ मंसिरमा लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रण आएको थियो । उक्त आगलागीका कारण मनाङको एक हजार दुई सय हेक्टर क्षेत्रफल वनजंगलल नष्ट भएको थियो । तिमाङ जङ्गलमा लागेको डढेलो नियन्त्रणमा तीनै तहका सरकारले यथाशीघ्र प्रभावकारी पहल गर्नुपर्नेमा स्थानीयको जोड छ ।

प्रतिक्रिया