शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सामाजिक अपराध रोक्न सबै जिम्मेवार बन्नुपर्छ

बिहिवार , माघ २४, २०८१

कानुनले अपराध गर्न भनेका छैन तर आर्थिक लेनदेन, धार्मिक, राजनैतिक, अशिक्षा, न्यून सचेतना, वैदेशिक रोजगार आदिको कारण समाजलाई अपराधतिर उन्मुख गराइरहेको छ । पछिल्लो समय व्यक्ति हत्याका घटनाहरु बढ्दै गएका छन् । विश्वका सम्पूर्ण मानव जातिलाई एउटै परिवार मान्नुपर्छ भन्ने मान्यता बोकेका हामी नेपाली नै आज एक–अर्काको हत्या गर्न उद्धत रहेको प्रहरीको तथ्यांकले देखाएको छ । भगवान बुद्धको जन्मभूमि भएकै कारण नेपाललाई शान्तिको देश भनिन्थ्यो कुनै दिन । सत्य, अहिंसा र न्यायका प्रतिमूर्ति भगवान बुद्धका अनुयायी र सन्तति भएको देशमा अहिले हुर्किएको अपराध, हिंसा र व्यक्ति हत्याको शृंखलाले नेपालीको गौरवलाई बिटुल्याएको छ । मानिस किन यति क्रुर, हिंस्रक र मानवीय भावनाबाट च्यूत हुँदैछ, त्यसको कारण र निदान खोज्न ढिला गर्नुहुँदैन । त्यसो त अपराधको अनुसन्धान गर्ने समाजमा शान्ति र अमनचयन कायम गर्ने नेपाल प्रहरीले केही हदसम्म कारणको खोजी गरेको छ । उसको अध्ययनमा घरेलु समस्याका कारण अपराध बढेका हुन् । आर्थिक अभाव, मानसिक समस्या, वैदेशिक रोजगारी, मद्यपान तथा लागूपदार्थको सेवन लगायतका कारण असन्तुलित मानसिकताले अपराध बढाइरहेका छन् ।

दिनहुँजसो सार्वजनिक भइरहने अपराधका घटनाहरु अकल्पनीय हुन थालेका छन् । बाबुले छोरा, छोराले आमा–बुवा, श्रीमानले श्रीमती, श्रीमतीले श्रीमान, नातिले हजुरआमाको हत्या गरेका घटनाहरु सामान्य जस्तै बन्दै गएका छन् । यसले एकातिर समाज असभ्य, अनैतिक, उदण्ड र छाडा हुँदै गएको देखाउँछ भने अर्कोतिर कोही कसैको हुन नसक्ने भय बढेको छ । समाज यतिबिघ्न क्रुर हुँदै जाँदा पनि राज्यपक्ष भने यतातर्फ गम्भीर भएको छैन । विकृतिहरुको पहिचान गरी निदानको बाटो खोज्नेतर्फ राज्यको ध्यान गएको देखिँदैन । क्रमशः बढ्दै गएको सामाजिक समस्याको जड मनमा उत्पन्न हुने रिस वा द्वेष नै हो । त्यसको व्यवस्थापन गर्न नसक्दा हत्या जस्तो निर्मम अपराध हुन्छ । रिसको आवेगलाई व्यवस्थापन गर्नुभन्दा कारणको पहिचान गरेर उपचार खोज्न राज्यले ध्यान दिनु पर्दछ । आर्थिक अभावका कारण उत्पन्न हुने कतिपय रिस वा आवेग रोजगारी वृद्धि गरेर समाधान गर्न सकिन्छ । लागूपदार्थ र मद्यपानको नियन्त्रण गरेर, सुशासनको प्रत्याभूति दिएर, सबैको नैसर्गिक तथा मानव अधिकार कुण्ठित हुन नदिएर पनि अपराध कम गर्न सकिन्छ । पछिल्लो समय प्रविधिको विकासले पनि मानिस एकाकी हुँदै गएको छ । संयुक्त पारिवारिक ढाँचा ध्वस्त भएको छ । त्यसैले यसतर्फ सरकार लगायत सबैपक्ष गम्भीर हुनुपर्छ ।

प्रतिक्रिया