लेखक : विनोद दाहाल
दल भित्र बिपरित वर्गका मानिस र तिनका स्वार्थले गर्दा अन्तरविरोधहरू हुनेगर्दछ । दल भनेको सामाजिक वर्गको बिचार हो । आफ्नो वर्गको बिचार अनुसार मानिस सङ्गठित हुने गर्दछन् । आफ्नो वर्ग र बिचार नचिनेर मानिस अन्य दलहरू भित्र चलखेल गर्न पुग्दछन् कि त आफ्नो स्वार्थ पूरा गर्नको लागि सत्तारुढ दल खोजेर सङ्गठित हुने गर्नाले दलहरूमा अन्तरविरोध हुने गर्दछ । दल नचिन्ने कमजोर चेतनाका मानिस र अवशरवादी तथा स्वार्थीहरूले गर्दा अन्तरविरोध हुने गर्दछ भन्ने जानकारी भएपछि समाधान पक्कै निस्किनुपर्ने हो । अहिले दलहरूको स्थिति हेर्दा अझै पनि सिकेका छैनन् र त भन्छन् “हाम्रो मास पार्टी हो“ । दल कहिं मास पार्टी हुन्छ ? मासको बिचार के हुन्छ ? कि त नबुझेर त्यसो भनेका हुन् कि त ती दल नै हैनन्, जनतालाई झुक्याउन र राज्यकोषमा लुटपाट गर्न बनाएका ग्याङ हुन् ।
दलभित्र अन्तरविरोध हुन्छन् किनकि वर्गको सन्तुलन नमिलेर त्यस्तो हुन्छ । हाम्रो समाज विकासको पुछारतिर नै छ किनकि शासन व्यवस्थामा सामन्तवाद धेरै पछिसम्म चल्यो । यहीकारण समाजमा धेरै वर्गहरू अस्तित्वमा छन् र वर्गहरूका आआफ्ना दलहरू हुनेहुनाले धेरै दलहरू भएका हुन् । फुट्नु भनेको फरक दलको अस्तित्व देखिनु हो । वर्गहरू चलायमान र कमजोर हुनेभएकाले दलहरू पनि कमजोर र चलायमान देखिएका हुन् ।
हाम्रो समाजमा कमजोर राजनीतिक अभ्यासले गर्दा पानी बाराबारको स्थितिमा पुग्ने वा झैझगडामा पुग्ने गरिन्छ । यसलाई सामान्य रुपमा हेर्नुपर्छ किनकि सामाजिक अन्तरविरोध कहिलेकाहिं वर्गीय समाजको कारण वर्गसङ्घर्षको मुर्त रुप लिन पुग्छ । यसलाई पनि स्वभाविक मान्नुपर्छ । त्यो पनि राजनीक बिचार त हो जुन परिस्कृत हुँदै जान्छ ।
जो वा जुन दल जो वा जुनसुकै दलसँग एकता गर्दा हुन्छ जस्तो भानपार्नेगरी “माओवादी एकता“ भनेर प्रचार खुव मज्जाले भैराखेको छ । अर्काथरी कम्युनिस्ट एकताको कुरा गर्नेगर्छन् । बिचार वा कार्यदिशासँग मतलव नगर्ने, मात्र संसदमा ठूलो र शक्तिशाली हुनका लागि यस्ता प्रचार भएका हुन् । यो एउटा भयङ्कर खतर्णाक संसदवादी रोग हो ।
जसको वर्गउत्थान भयो उबाट सर्वहारावादी आन्दोलनको नेतृत्व हुनसक्दैन । पहिला जनयुद्धमा सँगै लड्यौं र फेरि पनि सम्बन्ध कायम राख्नुपर्छ भन्नू अवशरवाद हुन्छ ।
हामीले माओवादी आन्दोलनलाई धोका दिएका छैनौं, वर्गमाथि गद्दारि गरेका छैनौं, हाम्रो गौरवशाली दल माओवादी संसदीय बाटो रोजेका अवशरवादीले टाकनटुकन बहुमतका आधारमा कब्जा गरे र हामीलाई माओवादी आन्दोलनतिर नै धकेलिदिए । हामीसँग अवशरवादीहरू अलग्गिएर गए, अर्कै बाटो रोजेर गए । हामी टुटेका र फुटेका हैनौं, कथित बहुमतको आधारमा धकिलिदिएकामा पर्छौं । अहिले हामी जनक्रान्तिको जिम्मेवारिमा छौं, उनीहरू प्रतिक्रियावादी वर्गको सत्ता सवामा तल्लिन छन् । को सहि बाटोमा छौं को गलतबाटो अपनाउन पुगेका छौं भन्ने व्यवहारतः पुष्टि हुँदै गैरहेको छ ।