शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

कपिलाकोट स्वास्थ्य केन्द्रको एम्बुलेन्समा लागुपदार्थ कारोबार

बिहिवार , मंसिर १३, २०८१

महोत्तरी, १३ मसिर – बिरामी बोक्ने एम्बुलेन्सबाट लागुपदार्थ कारोबारको कालो धन्दा भएको पाइएको छ । महोत्तरीको बर्दिबासमा प्रहरीले एम्बुलेन्सबाट १० ग्राम ब्राउनसुगर बरामद गरेको हो ।

बुधबार राति बर्दिबास चोकबाट सिन्धुलीतर्फ गइरहेको बा प्र ०१–००२ झ ६६९० नम्बरको एम्बुलेन्सबाट सो परिमाणको ब्राउनसुगर बरामद भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रेवतिरमण पोखरेलले बिहिवार जानकारी दिनुभयो ।

सिन्धुलीको मरिण गाउँपालिकाको कपिलाकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्सबाट ब्राउनसुगर बरामद भएको हो । एम्बुलेन्सको जाँच गरिँदा साइरनमा रहेको माइक्रोफोनभित्र लुकाइएको अवस्थामा ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।

ब्राउनसुगर बरामद भएको एम्बुलेन्स, चालक र एम्बुलेन्समा सवार अन्य एकसहितलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक (प्रनाउ) पोखरेलले बताउनुभयो ।

एम्बुलेन्सबाट गैरकानुनी सामान लगिँदैछ भन्ने सूचनाका आधारमा रोकेर जाँच गरिएको प्रहरीले जनाएको छ । यो कारोबारमा अन्य पनि संलग्न भएका हुनसक्ने प्रहरीको अनुमान छ ।

अहिले नियन्त्रणमा लिइएका दुई जनाको परिचय प्रहरीले खुलाएको छैन । सो एम्बुलेन्स उपचार कार्यको मानवीय सेवामा सहयोग पु¥याउन गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटलाई प्रदान गरेको जनाइएको छ ।

प्रतिक्रिया