नेपाल आयल निगमले तेलको मूल्य घटाएपछि सिन्धुलीमा पेट्रोलियम पदार्थको अभाव भएको छ । निगमले भदौ ३१ गतेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य घटाएको हो । मूल्य घटेसँगै यहाँका पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । सरकारले मूल्य घटाए पनि पेट्रोलिमय पदार्थको आयातमा कुनै कमी नआएको बताए पनि सिन्धुलीमा भने तेलको चरम अभाव हुन थालेको छ । जिल्लामा पेट्रोलिमय पदार्थको अभाव हुन थालेपछि उपभोक्ताले कालोबजारी भएको आरोप लगाएका छन् । जिल्लामा मनोमानी ढंगले पेट्रोलियम पदार्थ वितरण भइरहेको उपभोक्ताको गुनासोलाई सम्बोधन गर्दै समय–समयमा पेट्रोल पम्पको अनुगमन गर्न जिल्ला प्रशासन कार्यालय लगायत नियमनकारी निकायले चासो देखाउन जरुरी छ ।
सिन्धुलीमा सोमबार बिहानैदेखि पेट्रोल पम्पमा तेल नभएको भन्दै उपभोक्तालाई फर्काइएको छ । सिन्धुलीमा डिजेल पेट्रोलको अभाव भएपछि डिजेल र पेट्रोल हाल्न सावरी साधनहरू छिमेकी जिल्ला महोत्तरी पुग्ने गरेको पाइएको छ । जिल्लामा मूल्य बढाउने समयसम्म कुनै अभाव नभएको डिजेल तथा पेट्रोल मूल्य घटाएपछि अभाव सृजना हुनुले यो अस्वभाविक भएको उपभोक्ताको गुनासो छ । तसर्थ, पेट्रोलिम पदार्थको अभाव भएको हुँदा तु अनुगमन गर्नतर्फ सम्बन्धित निकाय गम्भिर हुन जरुरी छ । मूल्य घटेपछि पेट्रोलको अभाव हुनुको कारण खोज्नतर्फ जिम्मेवार निकायले अग्रसरता देखाउन ढिलाई गर्नुुहुदैँन । पेट्रोलियम पदार्थ नभएरै वितरण नगरिएको हो वा व्यवसायीको चलाखीले गर्दा कृत्रिम अभाव सिर्जना भएको अनुगमन हुन जरुरी छ । अतः उपभोक्ताको अधिकारलाई सम्मान गर्दै जिल्लाको नियमनकारी निकायले तुरुन्तै छानबिन गरि विकल्प निकाल्न गम्भिर हुनुपर्ने देखिन्छ ।