शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीका अधुरा योजनालाई पूर्णता देऊ

आइतवार , भाद्र ३०, २०८१

सिन्धुलीमा अर्बौका योजना अधुरा छन् । संघ, प्रदेश र स्थानिय सरकारले लगानी गरेको दर्जनौँ योजना समयमै सम्पन्न नहुँदा नागरिकले सास्ती व्यहोर्नु परिरहेको छ । विशेषगरि, विकास निर्माणका दर्जनौँ योजना अलपत्र छन् । केहि योजनामा बजेट निकासा नहुँदा त केहिमा ठेकेदारको लापर्वाहीका कारण पुर्वाधारका कामहरु अधुरा छन् । ठेक्का लगाउन हतार गरेपनि निर्माण सम्पन्न गराउन राज्यको संयन्त्र गम्भिर नहुँदा निर्माणको कामले पूर्णता पाउन सकिरहेको छैन । त्यसैगरि, स्थानियले विकास निर्माणका काममा अपनत्व लिन नसक्दा गुणस्तरहिन काम भइरहेको छ । आफ्नै टोलमा करोडौँको संरचना गुणस्तरहिन तरिकाले निर्माण भइरहदा पनि स्थानियले आवाज नउठाउँदा राज्यको संयन्त्र र ठेकेदार कम्पनिले आफूखुशि गरिरहेका छन् । तसर्थ, जिल्लामा संचालित योजनालाई पारदर्शि बनाउँदै गुणस्तरीय निर्माणलाई प्राथमिकता दिन जरुरी छ । त्यस्तै, अधुरा योजनाको अनुगमनमा यहाँका जनप्रतिनिधि लगायत सरोकारवाला निकायले विशेष चासो देखाउन जरुरी छ ।

वर्षेनि संघीय सरकारदेखि प्रदेश र स्थानिय सरकारले करोडौँको योजना निर्माणकालागि बजेट निकासा गरिरहेको छ । तर, विविध कारणले गर्दा ती योजना समयमै सम्पन्न हुन सकेको छैन । योजनाकालागि बजेट पार्न पहल गरेको भन्दै जश लिन खोज्ने जनप्रतिनिधिले निर्माणाधिन संरचनाको अवस्थाका बारेमा भने चासो नदेखाएको अवस्था छ । यतिसम्मकि केहि जनप्रतिनिधिले कर्मचारीलाई प्रभावित पार्दै आफ्ना कार्यकर्ता र आफन्तलाई जागिर लगाएका छन् भने योजनाबाट लेबि समेत उठाउने गरेको गुनासो छ । तसर्थ, यहाँको विकास निर्माणमा देखिएको समस्यालाई न्युनिकरण गर्न जनप्रतिनिधि, राज्यको संयन्त्र लगायत जिम्मेवार निकाय गम्भिर हुन जरुरी छ । अतः अधुरा योजनालाई अलपत्र हुन नदिन बृहत छलफलको आवश्यकता छ ।

प्रतिक्रिया