सिन्धुलीमा सरकारी सम्पत्तिको दुरुपयोग बढेको गुनासो छ । जिल्लामा रहेको केन्द्र, प्रदेश र स्थानीय तह मातहतका कार्यालयले सरकारी सम्पत्तिको दुरुपयोग गरेको स्थानीयले गुनासो गरेका छन् । यहाँ रहेका केही सरकारी कार्यालयका सवारीसाधनलाई जनप्रतिनिधि ओसार्न प्रयोग गरेको पाईएको छ । त्यस्तै, स्थानीय तहको कार्यालयमा पार्टी प्रवेश गराउनेसम्मको क्रियाकलाप भएको विगतको घट्नाले देखाएको छ । बिदाको दिनपनि सरकारी गाडी निर्वाध रुपमा गुड्नु सिन्धुलीमा सामान्य जस्तै भइसकेको छ । केहि दिनअघि मात्रै जिल्ला समन्वय समितिको कार्यालयमा एक गैर सरकारी संस्थाले साधारणसभानै संचालन गर्यो । उक्त सभामा जिल्लाका जनप्रतिनिधिको समेत सहभागिता थियो । सरकारी कार्यालयमा बाहिरी संस्थाको कार्यक्रम संचालन हुनु सामान्य होइन । यि त प्रतिनिधि घट्ना मात्र हुन् । जिल्लामा सरकारी सम्पत्तिको चरम दुरुपयोग भइरहेको विभिन्न समयमा देख्न सकिन्छ । सरकारी भवनको दुरुपयोगसँगै सरकारी नम्बर प्लेटको सवारीसाधन बिना काम दौडिरहदापनि यहाँका सरोकारवाला निकाय मौन देखिएका छन् । सरकारी सम्पत्तिको दुरुपयोग गर्नेमा यहाँका जनप्रतिनिधि र नेतृत्वनै सक्रिय छन् । तसर्थ, नागरिकको करबाट खरिद गरिएको सम्पत्तिको दुरुपयोग हुन नदिन जिल्ला प्रशासन कार्यालय लगायत सम्बन्धित निकाय गम्भिर हुन जरुरी छ ।
जिल्लाका सामुदायिक विद्यालय समेत राजनैतिक दलले पार्टीको काममा प्रयोग गरेको पाइएको छ । विद्यालयनै बन्द गरेर विद्यालयमा पार्टीगत कार्यक्रम संचालन गर्ने प्रवृद्धि विरुद्ध यहाँका विद्यार्थी संगठनले आवाज उठाउन जरुरी छ । त्यसैगरि, सरकारी सम्पत्तिलाई निजि प्रयोजनकालागि दुरुपयोग गर्न नदिन सरोकारवाला निकायले सम्बन्धित निकायलाई खबरदारि गर्न आवश्यक छ ।