शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा श्रमिकको जिन्दगीसँग खेलबाड

बुधवार , भाद्र १९, २०८१

सिन्धुलीमा निर्माणाधिन आयोजनामा श्रमिकको जिन्दगीसँग खेलबाड गरेको घट्ना सार्वजनिक हुदैँ आएको छ । पर्याप्त मात्रामा सुुरक्षा सावधानी नअपनाउँदा र हेलचक्र्याइँका कारण निर्माणाधीन आयोजनामा बारम्बार दुर्घटना हुने गरेको छ । यस्ता दुर्घटनामा दक्ष प्राविधिक र सामान्य मजदुरसमेत घाइते हुने गरेका छन् भने केहिको ज्यान समेत गएको छ ।

सिन्धुलीको घ्याङलेख गाउँपालिका अन्तर्गत २२ करोड बढि लागतमा पिपलभञ्ज्याङ, सिम्ले, खट्टार, हायुटार सडकखण्डको स्तरोन्नति भइरहेको छ । सडकको स्तरोन्नतिकालागि सोहि ठाउँमा क्रसर संचालन गरिएको छ । सोहि क्रसर संचालन गर्दा एक मजदुरको दुर्घटनामा हात गुमेको छ । घ्याङलेखको घट्ना त एउटा प्रतिनिधि घट्ना मात्र हो । पूर्वाधार निर्माण क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई प्राथमिकतामा नराख्दा वर्षेनि यहाँका मजदुर घाईते हुने गरेका छन् । पूर्वाधार निर्माणमा गम्भीर प्रकृतिका दुर्घटना दोहोरिरहेका छन् । निर्माण कम्पनीको लापरबाही या प्राविधिक त्रुटि कारण जे भए पनि निर्माण क्षेत्रमा कार्यरत कामदार असुरक्षित देखिन थालेका छन् ।

हरेक दुर्घटनाको पछाडि फरक–फरक कारण हुन्छन् । तर हाम्रो पूर्वाधार निर्माण क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई धेरै हदसम्मै हेलचक्र्याइँ गरिन्छ । ठेकेदार कम्पनीले खर्च बढ्ने देखेर सुरक्षाका मापदण्ड कार्यान्वयन गर्दैनन् । कार्यरत प्राविधिक र मजदुरले पनि सुरक्षा सावधानीमा ध्यान नदिएको अवस्था छ । कुनै पनि आयोजनाको ठेक्का सम्झौतामा पर्याप्त मात्रामा सुरक्षा मापदण्डको विषय राखिए पनि कार्यान्वयन नहुँदा समस्या देखिएको छ । निर्माणाधीन आयोजनामा कार्यरत कामदारले सुरक्षाका साधन प्रयोग गर्नुपर्ने हुन्छ तर सुरक्षा प्रोटोकल पर्याप्त मात्रामा कार्यान्वयनमा ल्याएको देखिदैँन । तसर्थ, सुरक्षा संवेदनशीलता बढाउन सतर्कताको आवश्यकता छ । श्रमिकका लागि व्यवसायजन्य सुरक्षा सामग्री समेत उपलब्ध गराउन ठेकेदार कम्पनी गम्भिर हुनुपर्छ । त्यसैगरि, ठेक्का लगाउने निकायले पनि निर्माण क्षेत्रको अवलोकन गरेर त्यहाँ देखिएका कमिकमजोरीलाई हटाउन कडा कदम चाल्नुपर्ने देखिन्छ । अतः श्रमिकको जिन्दगीमाथि खेलबाड भइरहेको हुँदा नियमनकारी निकायले यसतर्फ विशेष ध्यान पुर्‍याउन जरुरी छ ।

प्रतिक्रिया