शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

विदेश पलायन रोकौँ

मंगलवार , भाद्र १८, २०८१

आइतबार सिन्धुलीको तीनपाटन गाउँपालिका ७ मा कैद गरिएको एक तस्बिर सामाजिक संजालमा छ्याप्छ्याप्ती देखियो । चारजना भएर शवलाई घाटमा लग्दै गरेको तस्बिरले सबैको ध्यान तान्यो । घाटसम्म शव पु¥याउन मलामीको अभाव हुने अवस्थाले वैदेशिक रोजगारीको भयावह अवस्थालाई देखाएको छ । सिन्धुलीको कुल जनसंख्याको झण्डै १६ प्रतिशत युवाहरु वैदेशिक रोजगारीमा छन् । देशमै रोजगारी नपाएपछि यहाँका युवाहरु कठोर परिश्रम गर्नकालागि विदेशिन बाध्य छन् । युवाहरु विदेशिदै गर्दा उनीहरुको जिवन त कष्टकर बनेकै छ, यता गाउँसमाजमा पनि नकारात्मक प्रभाव परिरहेको छ । वैदेशिक रोजगारले नेपाली समाजमा वर्तमान समयमा पारिरहेको नकारात्मक प्रभाव समाजमा दीर्घकालीन असरको रूपमा पर्दैछ । देशको प्रगति गर्ने नारा र दस्तावेजलाई गोजीमा बोकेर झुट्टो आस्वासन बाँड्दै हिँडेका नेताले अहिले नै वैदेशिक रोजगारले समाजमा दीर्घकालीन नकरात्मक प्रभाव परिरहेको कुरालाई मनन गर्दै स्वदेशमै युवा पुस्तालाई रोजगार दिन सक्ने कार्यनीतिको तत्काल कार्यन्वय गर्ने बेला आएको छ ।

वैदेशिक रोजगारीले पारिवारिक संरचनामा ल्याएको विखण्डन सबै भन्दा बढी जल्दोबल्दो समस्याका रूपमा देखिएको छ । मानिस सामाजिक प्राणी भएकाले उसलाई समाज र परिवार चाहिन्छ अनि समाज र परिवार दुवैको माया, प्रेम र सुरक्षा पनि चाहिन्छ । वैदेशिक रोजगारीको सिलसिलामा अत्यधिक नेपाली युवायुवतीको विदेश पलायनले गर्दा परिवारमा सामाजिक–मानसिक असुरक्षाको स्थिति पनि बढ्दै गएको छ । परिवार तथा समाजमा महिला, केटाकेटी, वृद्ध तथा अशक्तहरूमात्रै बाँकी रहनाले भैपरी आउँदा अथवा मर्दापर्दाको अवस्थामा सहयोग र सुरक्षा दिने हात र साथको पनि अभाव बढ्दै गएको छ । विशेषगरी सहरी क्षेत्र भन्दा ग्रामीण क्षेत्रमा वृद्धवृद्धाले यस्तो सामाजिक–मानसिक असुरक्षाको पीडा भोग्नुपरिरहेको छ । विप्रेषणले आर्थिक टेवा प्राप्त भए तापनि सामाजिक–मानसिक सुरक्षाको अभाव भने निरन्तर बढ्ंदै गएको छ । साना केटाकेटीले लामो समयसम्म आफ्ना अभिभावकको सामी गरेको छ । अतः स्वदेशमै रोजगारी सिर्जना गर्नतर्फ तीनै तहको सरकार गम्भिर हुनुपर्दछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया