शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीका सरकारी कार्यालयमा अनावश्यक कर्मचारी भर्ति

सोमवार , भाद्र १७, २०८१

सिन्धुलीका सरकारी कार्यालयमा करारमा कर्मचारी भर्ति गर्ने नाममा पहुँचवाला, आफ्ना कार्यकर्ता र आफन्तलाई जागिर खुवाएको भन्दै विरोध हुने गरेको छ । महालेखापरीक्षकको कार्यालयले वार्षिक रुपमा सार्वजनिक गर्ने प्रतिवेदनमा हरेक पटक जिल्लामा रहेका केन्द्र, प्रदेश र स्थानिय तह मातहतका कार्यालयमा करारमा अनावश्यक कर्मचारी भर्ति गरेको पाईएको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिकाले राज्यलाई भार पर्ने गरि दरबन्दी भन्दा १५ जना बढि करारका कर्मचारी नियुक्ति गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा ३६ लाख बढि रुपैँया ऐन विपरित भर्ति गरिएका कर्मचारीलाई तलबकालागि खर्च भएको जनाएको छ । यो त प्रतिनिधि घट्नामात्र हो । जिल्लाका नौँवटै स्थानिय तहमा आवश्यकता भन्दा बढि कर्मचारी भर्ति गरेर राज्यको सम्पत्ति दोहन भइरहेको छ । यतिमात्र नभएर स्वच्छ प्रतिस्पर्धाबाट कर्मचारी नियुक्ति गर्ने भन्दापनि गुपचुप रुपमा पहुँचवाला र आफन्तलाई जागिर बक्सिस दिने क्रम सिन्धुलीमा रोकिएको छैन । तीनै तहको सरकार मातहतका कार्यालयमा अनावश्यक कर्मचारी भर्ति गरेर्र नागरिकको करको दुरुपयोग भइरहेको छ । तसर्थ, आवश्यकता भन्दा बढि कर्मचारी भर्ति गर्ने भन्दापनि सक्षम, दक्ष र सही ठाउँमा सही मान्छे भर्ति गर्नतर्फ नेतृत्वले ध्यान पुर्याउन जरुरी छ ।

सिन्धुलीमा क्षमता, सीप र दक्ष युवाहरु रोजगारीको अवसर नपाएर पलायन हुने अवस्था छ । एकातर्फ क्षमतावान युवाहरु प्लायन भइरहेका छन् भने अर्कोतर्फ पहुँचको आधारमा प्रतिस्पर्धा बिनै अनावश्यक कर्मचारी भर्ति भइरहेका छन् । तसर्थ, जिल्लामा रोजगारीको नाममा देखिएको विकृतिको अन्त्य गर्न यहाँका राजनैतिक दल, जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख लगायत सरोकारवाला निकायले एक्यबद्धता जनाउन आवश्यक छ । अतः यहाँका दक्ष युवा बेरोजगार बस्नुपर्ने र क्षमतै नभएका युवाकालागि जागिर फ्यालाफ्याल हुने अवस्था बन्द गर्नतर्फ सम्बन्धित निकाय गम्भिर हुन जरुरी छ ।

प्रतिक्रिया