सिन्धुली– बालिकाहरुलाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले सिन्धुलीका एक जना सहित दुई होटल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका–५ का ४२ वर्षीय राजु शाही र रामेछापका २८ वर्षीय गोरे नेवा खड्गी छन् । उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनीहरुले कोटेश्वरमा कमलामाई खाजा घर एण्ड गेस्ट हाउस सञ्चालन गरेका थिए । बालिकाहरुलाई होटलको कामको बहानामा आर्थिक प्रलोभन देखाएर यौन व्यवसायमा लगाएको पाइएको ब्यूरोका प्रहरी उपरिक्षक तथा प्रवक्ता गौतम मिश्रले बताउनुभयो ।
उनीहरुले अन्य होटल गेस्ट हाउस तथा ग्राहकले बोलाएको ठाउँमा बालिकाहरुलाई पठाएको पनि पाइएको उहाँले बताउनुभयो । उनीहरुको गेस्ट हाउसबाट प्रहरीले पाँचजना बालिकाको उद्धार गरेको छ । गेस्टहाउसमा आउने ग्राहकहरूसँग सञ्चालकले एकपटक यौन सम्पर्क राखेमा १ हजार ५ सय र रातभर यौन सम्पर्क गर्नेसँग ८ हजार असुल्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।