सिन्धुलीमा इन्टरनेटको विकाससँगै विकृति बढेको छ । अनलाईन ठगि, चरित्र हत्याका घट्नादेखि पारविारिक कलह निम्ताउने साधन भन्दै गएको छ इन्टरनेट । अराजक प्रवृद्धिका मानिसहरुकालागि झगडा गर्न इन्टरनेट एउटा गज्जबकै प्लेटफर्म जस्तो भएको छ । मुख्यतः जिल्लामा राजनितिक दलमा आबद्ध रहेका नेता तथा कार्यकर्ताले सामाजिक संजाललाई दुर्गन्धित बनाएका छन् । एउटा पक्षले अर्को पक्षलाई अश्लिल शब्द प्रयोग गरेर सार्वजनिक रुपमै झगडा गरिरहेको दृश्य सामाजिक संजालमा देख्न सकिन्छ । गालीगलौजका नाममा तुक्ष शब्द प्रयोग गर्दै सामाजिक संजाललाई विचार पोख्ने डस्टिबन बनाइएको छ । केहि दिन अघि एक राजनितिक दलको भातृसंगठनको नाममा रहेको फेसबुकपेजबाट अश्लिल शब्द प्रयोग गर्दै अर्को दलका नेता तथा कार्यकर्ताको विरोध गरे । शब्द चयन र सामाजिक विकृतिको ख्यालै नगरी पोष्टाइएको उक्त स्ट्याटसमा सिन्धुलीबाटै निर्वाचित एक सांसदले लाईक ठोकिदिए । अश्लिल शब्द प्रयोग गरि अरुलाई होच्याएको भन्दापनि उनको समर्थनमा लेखिएको शब्दले उनलाई आकर्षित गर्यो । अश्लिल वाकयुद्धमा रमाएका कार्यकर्तालाई सम्झाउने भन्दापनि प्रोत्साहन गर्नतर्फ यहाँका जनप्रतिनिधि केन्द्रित छन् भन्ने यो त एउटा ज्वलन उदाहरण हो यो । यो त एउटा प्रतिनिधि घट्नामात्र हो ।
यहाँ दैनिक कुनै नै कुनै विषयमा सामाजिक संजालमा युद्व छेडिन्छ र अराजक नृत्य प्रस्तुत गरिन्छ । गाउँको मुखियालेनै बाटो बिराएपछि गाउँलेको अवस्था के होला ? तसर्थ, यसतर्फ नेतृत्वमा रहेकाहरुले विचार गर्नुपर्छ । अतः इन्टरनेट अश्लितता प्रदर्शन गर्ने थलो नबनोस्, स्वच्छ प्रतिस्पर्धालाई प्राथमिकतामा राख्नतर्फ यहाँका राजनैतिक दलले आफ्ना नेता तथा कार्यकर्तालाई प्रशिक्षण गर्न जरुरी छ । त्यस्तै, सामाजिक संजालमा देखिएको विकृतिको न्युनिकरण गर्नतर्फ नियमनकारी निकायपनि गम्भिर हुन आवश्यक छ ।